नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरी गाउँका केशव बुढाथोकी गढवा गाउँपालिका–७ स्थित राप्ती नदीको एउटा किनारमा बालुवा खोस्रिदै गरेका थिए । उनले बालुवा चालेर सुन खोजी गर्न थालेको बताए । माघको चिसोमा पनि बुढाथोकीको दैनिकी बिहानदेखि बेलुकासम्म नदीमै बित्ने गरेको छ ।
नदीमा समय बिताएर उनले आफ्नो घर व्यवहार चलाउने गरेका छन् । उनी मात्र नभइ धेरैले यसरी नै बालुवा चालेर सुन खोज्ने गरेका छन् । यही सुन खोज्नको लागि उनी घरबाट हिडेको महिना दिन भन्दा बेसी भइसक्यो । सुरुमा रोल्पा, प्युठानसम्म पुगेका बुढाथोकीले त्यहाँ राम्रो काम नभएपछि अहिले दाङको राप्ती नदीको बालुवामा सुन खोज्दै आएका छन् ।
‘अलिकति बालुवा निकालेर पानीमा चालेपछि त्यहाँ सुन छ÷छैन थाहा हुन्छ । अनि त्यही बालुवा निकाल्ने कि अर्को ठाउँमा जाने भन्ने तय हुन्छ’ बुढाथोकीले भने, ‘अहिले हामीले चालिरहेको ठाउँमा राम्रै भेटिरहेको छ । ठाउँ फेर्नुपरेको छैन ।’ दैनिक दुई लालसम्म सुन भेटिने गरेको उनको भनाइ छ ।
अहिलेसम्म चार आनासम्म सुन भेटिसकेको उनी बताउँछन् । यसरी भेटिएको सुन स्थानीय सुनचाँदी पसलमा बिक्री गरिएको छ । बाँकेबाट पनि सुन चाल्न राप्ती नदीमा आउने गरेका छन् । जीविकोपार्जनका लागि सुन चालेर खर्च टार्ने धेरै परिवार रहेका छन् । केशव मात्रै नभइ उनीसँग डुडुवा गाउँपालिका–५ बाँकेका डिलबहादुर बोहरा पनि बालुवा खोस्रिरहेका छन् । दुवै जना मिलेर नदीमा बालुवामा सुन संकलन गरिरहेका छन् ।
दैनिक ७/८ सय रुपैयाँ आम्दानी हुने गरी सुन भेटिने गरेको उनीहरुको भनाइ छ । ‘अरुको काम गर्नु भन्दा यही काम ठीक छ । दिनभरि काम गर्यो । दैनिक ज्याला उठिहाल्छ । अरुसँग हात फैलाउन परेन’ बोहोराले भने, ‘नदीको बालुवा, गिट्टीसँगै सुन पनि बगेर गइरहेको छ । हामीले चालेर थोरै थोरै कण जम्मा गरेर बिक्री गर्छाैं । यही कामले घरखर्च चलेको छ ।’