‘समुदायमा कांग्रेस’ अभियान बाँकेमा पनि शुरु

सदरलाइन संवाददाता १६ माघ २०८०, मंगलवार १७:३९
 

नेपालगञ्ज : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि मंगलवारदेखि बाँकेका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको शनिवार बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको थियो । त्यसै अनुरुप आजदेखि जिल्ला प्रतिनिधि वडा–वडामा खटिएको जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए ।

केन्द्रीय प्रतिनिधि गुरु बराल अभियानका क्रममा जिल्लाका ८ वटै पालिकामा सहभागी हुने सचिव सुधांशु कोइरालाले जानकारी दिए । बरालले आइतबार पार्टी कार्यालयमा वडामा खटिने जिल्ला प्रतिनिधिलाई अभिमुखीकरण गरेका थिए । कांग्रेसले मंगलवारदेखि वडास्तरमा अभियान सञ्चालन गर्न सुरु गरेको छ । अभियान माघ २६ गतेसम्म चल्नेछ ।

कांग्रेसको अभियान अन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने सभापति गौडेलले बताए ।


जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेसको भनाई छ ।

अभियानमा जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायत कार्यक्रम रहने छैनन् । सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नुपर्नेछ ।

सबै नेता वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अभियानको यो चरण माघ २६ गते पार्टीका स्व. सभापति सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज बजारमा

१६ माघ २०८०, मंगलवार १७:३९
नेपालगञ्ज : नेपालगञ्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आएका हुन् । बुद्धिरामले […]