सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज बजारमा

सदरलाइन संवाददाता १६ माघ २०८०, मंगलवार १७:५०
 

नेपालगञ्ज : नेपालगञ्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आएका हुन् ।

बुद्धिरामले गत दुई महिनादेखि सल्यानबाट सिस्नो नेपालगञ्ज ल्याएर नेपालगञ्जको सडकमा राखेर बिक्री गर्दैआएको बताए । ‘मैले पहाडी जिल्लामा पाइने अर्गानिक रैथाने खाद्य तथा तरकारीजन्य वस्तुहरु विगत केही महिनादेखि नेपालगञ्ज ल्याई नेपालगञ्जको सडकमा राखेर विक्री गर्दै आएको छु’ बुद्धिरामले भने, ‘पहाडी जिल्लामा पाइने अर्गानिक स्थानीय उत्पादन कोदो, मकै, आलु, सिमी, सुन्तला, भाङ्गोका साथै सिस्नो पनि बिक्री गरिरहेको छु ।’

सल्यानमा बस्ने आफ्नो आमाले आफ्नै बारी र कान्लामा फलेको सिस्नो टिपेर नेपालगञ्ज पठाउने गरेको उनले बताए । ‘सल्यानमा आमा हुनुहुन्छ, आफ्नै बारी र कान्लामा फलेको सिस्नो टिपेर आमाले यहाँ पठाउनुहुन्छ’ उनले भने, ‘सिस्नो विक्री गर्न राखेको दिनमा खोसाखोस हुन्छ, माग अत्यन्तै बढी छ पु¥याउन सकिरहेको छैन ।’

सिस्नोको माग धेरै भए पनि आफूले हप्तामा दुई–तीन दिन मात्र सिस्नो बिक्री गर्दैआएको उनले बताए । अन्य अर्गानिक खाद्य तथा तरकारीजन्य वस्तुहरु दैनिक विक्री गर्दै आए पनि सिस्नो भने हप्तामा दुई–तीन दिन मात्र बिक्री गर्दैआएको उनको भनाइ छ । सल्यानबाट यहाँ ल्याएर सिस्नो १५० रुपैयाँ प्रतिकिलो विक्री गर्दै आएको उनले बताए ।


बुद्धिरामले सिस्नोको अलावा जाजरकोटको स्थानीय उत्पादन कोदो, सल्यानको मकै, जुम्लाको आलु, डोल्पाको भाङ्गोलगायत अर्गानिक किवी, सुन्तलालगायत सिजन अनुसारका खाद्य तथा तरकारीजन्य वस्तुहरु बिक्री गर्दै आएका छन् ।

हरेक दिन बिहान सुर्खेतरोडस्थित सिटिजन बैंक अगाडिको सडक किनारमा सिस्नोसहित खाद्य तथा तरकारीजन्य वस्तुहरु बिक्री गर्दै आएका बुद्धिरामले यही पेशाबाट आफ्नो पाँच जनाको परिवारको दैनिक गुजारा चलिरहेको बताए ।

‘देशमा केही छैन, केही गर्न सकिँदैन भन्दै दैनिक हजारौं युवा देश छाडेर विदेश पलायन भइरहेका छन्, तर यही देशमा उत्पादन भएका सानातिना वस्तुमा ध्यान दिने हो भने यहीँ आवश्यक पैसा कमाउन सकिन्छ’ बुद्धिरामले भने, ‘युवा पलायनलाई रोक्न सरकारले युवालक्षित विशेष कार्यक्रम ल्याउन जरुरी छ । साथै युवाले पनि यही देशमा सानोतिनो काम गर्न सक्नुपर्छ ।’

सिस्नोको प्रयोगबाट मुटुसम्बन्धी समस्यालाई निको पार्न सहयोग मिल्ने, मधुमेहका रोगीलाई उपयोगी हुने, गर्भवती तथा सुत्केरी महिलाका लागि फाइदाजनक हुने, उच्च रक्तचापका रोगीलाई रक्तचाप नियन्त्रण गर्न सघाउ पुर्याउने, प्रोस्टेड ग्लाण्डर र बाथको समस्या भएका रोगीलाई राहत प्रदान गर्ने, मानिसको शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने तथा पिसाबको सङ्क्रमण हुनेहरुका लागि पनि फाइदाजनक हुनेलगायतका औषधीय गुण पाइने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा हरित अर्थतन्त्र परियोजना सञ्चालन

१६ माघ २०८०, मंगलवार १७:५०
नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न […]

सम्बन्धित