नेपालगञ्ज : लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका –४ विकासनगरमा सोमबारदेखि शुरु भएको माघी मिलन तथा प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना छ, युवाको पनि यसमा ध्यान जान जरुरी छ ।’ मन्त्री चौधरीले खेलाडि उत्पादनसँगै टिकाउन जरुरी रहेको बताए । सरकारले भौतिक र मानवीय बिकासलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
कार्यक्रममा बाँके क्षेत्र ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरुलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरुको प्रस्तावमा प्रतियोगिता शुरु गरिएको बताए । प्रदेशसभा सदस्य खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लवको सहभागिता रहेको छ । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत आयोजना गरिएको छ ।