नेपालगञ्ज नाकाबाट विदेशी पर्यटक भित्रिन पाएनन्

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १८:२३
 

नेपालगञ्ज : सीमापारि भारतको रुपईडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगञ्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् ।

कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य नाकाको स्थल मार्गबाट पर्यटकको आवतजावत भएपनि नेपालगञ्ज नाकामा भने नियमित हुन सकेको छैन ।

अध्यागमन कार्यालय नेपालगञ्जकी प्रमुख दुर्गा ओलीले रुपईडिहास्थित भारतीय अध्यागमनले विदेशी नागरिकको आगमन र बहिर्गमन दुवै बन्द गरेकाले यो नाका हुँदै तेस्रो देशका पर्यटक आउन र जान नसकेको बताइन् ।

उनले रुपईडिहास्थित भारतीय अध्यागमन कार्यालयले सबै काम बन्द गर्दा नेपालगञ्जलाई ट्रान्जिट बनाएर नेपाल भारत घुम्न आउने विदेशी पर्यटक आवागमनको सङ्ख्या शून्यमा झरेको बताइन् ।


अध्यागमन कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्जबाट पर्यटक आगमन हुने व्यवस्था नभएपछि विकल्पमा भैरहवा भएर नेपाल छिर्ने गरेको जनाइएको छ । नेपालगन्ज नाकाबाट तेस्रो देशका पर्यटक आउन मिल्ने गरी रुपईडिहास्थित भारतीय अध्यागमन कार्यालयले काम शुरु नगर्दा विदेशी पर्यटकको आवागमन ठप्प भएपनि नेपालले पहल नगरेको पर्यटन व्यवसायीको गुनासो छ ।

नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले यस विषयमा सरकारले भारतसँग कुराकानी गरेर पर्यटकको आवागमन हुन सक्ने वातावरण बनाउनुपर्ने माग गरे । उनले भने, “यता हामी रातदिन कसरी विदेशी पर्यटक नेपाल भित्र्याउनेबारेमा चिन्तित छौँ, उता नेपालगञ्ज नाकाबाट आउन चाहने पर्यटकले पनि भारतीय अध्यागमनका कारण आउन सकेका छैनन् । त्यसका लागि सरकारले पनि कुनै पहल गरेको देखिँदैन ।” पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विगतमा भारत भएर नेपालगञ्ज आउने विदेशी पर्यटकको सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्दै पर्यटन व्यवसायमा हानि पुगेको बताए ।

अध्यागमन कार्यालय नेपालगञ्जका अनुसार, कोभिडअघिसम्म वार्षिक छ सय जति तेस्रो मुलुकका पर्यटक नेपालगन्ज नाका हुँदै प्रवेश गर्थे । यसरी प्रवेश गरेका पर्यटकले पश्चिम नेपालका पर्यटकीय स्थल भ्रमण गरी काठमाडौँ जान्थे भने काठमाडौँमा ओर्लिएका पर्यटक पश्चिमका विभिन्न पर्यटकीय स्थल घुमेर नेपालगन्ज नाका हुँदै भारत जान्थे । अध्यागमन कार्यालय प्रमुख ओलीले भनिन, “तर अहिले यो सबै काम ठप्प छ । कार्यालय खोल्ने र बस्ने काम मात्रै भएको छ । अरू त खासै केही काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य प्रविधि कार्यालयमा कर्मचारी अभाव

१४ माघ २०८०, आईतवार १८:२३
नेपालगञ्ज : नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ । कार्यालयको क्षेत्र बाँके र बर्दियामा प्रत्यक्ष तथा रुकुमपूर्व, रोल्पा, दाङ र प्युठान अप्रत्यक्ष गरी ६ जिल्लामा रहेको छ । तर कर्मचारी दरबन्दी परिपूर्ती नभएका कारण कार्य सम्पादनमा कठिनाइ हुनेगरेको कार्यालय प्रमुख अमितभुषण सुमनले जानकारी दिए […]