कोहलपुर (बाँके) : कोहलपुर चौराहादेखि हाइस्कुलसम्मको मुख्य रोडमा जेब्रा क्रसिङ मेटिएको छ । न्युरोड, साझा चोक, इलाका प्रहरी रोडलगायत मुख्य सडकमा जेब्रा क्रसिङ मेटिँदा यात्रुलाई सडक वारपार गर्न असहज भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । जेब्रा क्रसिङहरू मेटिँदा पनि सरोकारवालाको ध्यान जान सकेको छैन ।
जेब्रा क्रसिङ मेटिएको लामो समय हुँदापनि समयमै रङरोगन हुन नसक्दा दुर्घटनाको जोखिम बढेको सडकयात्रुहरु गुनासो सुनाउँछन् । ट्राफिक प्रहरीलाई पनि यात्रुलाई ट्राफिक नियम पालना गराउन समस्या हुने गरेको छ । जेब्रा क्रसिङ मेटिंदा ट्राफिक प्रहरीलाई पनि कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बताउँछन् । जेब्रा क्रसिङ निर्माणका लागि सडक विभागसँग समन्वय गरेको प्रमुख सुवेदीले जानकारी दिए ।
जेब्रा क्रसिङमा हुने दुर्घटना कमि ल्याउनका लागि ट्राफिक प्रहरी बाँकेले स्थानिय तहसंग समन्वय गरी प्रत्येक पालिकामा स्वयंसेवक खटाउने, विद्यालय तथा कलेजमा सचेतना कक्षा संचालन गर्ने लगायतका अभियान चलाइरहेको छ । यस्तै कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख विरबहादुर थापाले गत मंसिरमा जेसीज सप्ताहको अवसरमा सामान्य पेन्टिङ गरिएको बताए ।
तर एक महिनामा नै मेटिएकोले सरोकारवालासँग समन्वय भइरहेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । उनले जेब्रा क्रसिङ निर्माण र सडक लाइटका लागि सडक विभाग नेपालगञ्जलाई पत्राचार गरिसकेको बताए । जाडोको समयमा गर्न नमिल्ने भन्दै फागुनको महिनामा निर्माण गरिने उनको भनाइ छ ।