नेपालगञ्ज : हिन्दू समुदायको अन्तिम संस्कारका लागि बाँकेको डुडुवा गाउपालिका वडानं. ५ सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम निर्माणका लागि आर्थिक सहयोग प्राप्त हुने क्रम सुरु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ डा. चापागाईले बैकुण्ठधाम निर्माणका लागि पहिलो दान स्वरुप ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । सोह्रश्राद्धको पहिलो दिन डा.चापागाईले आफ्ना हजुरबुबा स्व. हितलाल चपाईको स्मृतिमा सो रुपैयाँ दान गरेका हुन् ।
ब्यवस्थित दाहसंस्कार स्थल नभएका कारण वर्षौदेखि समस्या भोगिरहेका बाँके र यस आसपासको स्थानीयबासीको सहजताका लागि राप्ती नदी किनारको सिधनियाघाटमा बैकुण्ठधामको संकल्प गरिएको छ ।
नेपालगञ्जको मर्निङवाक गर्ने एक समुहले गरेको संकल्पलाई साकार पार्न हालसम्म ३ हजार सदस्सीय मुल समिति सहति बिभिन्न उपसमितिहरु बनेका छन् । धाम निर्माणका सहयोगार्थ बाचन शिरोमणी दीनबन्धु पोखरेलको संयोजनमा कार्तिक २२ देखि ३० गते सम्म धार्मिक महोत्सव हुने भएको छ ।
बैकुण्ठधाम सिधनियाघाट समुहले पितृश्राद्धको तिथिमा पितृको नाममा बैकुण्ठधामको लागि पितृ दक्षिणा संकल्प गर्न सर्वसाधारणमा आह्वान गरेको छ ।