प्रदर्शनीमा लाखौंको कारोबार

सदरलाइन संवाददाता ३ माघ २०८०, बुधबार १८:१८
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगञ्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा १५ लाख रुपैयाँको कारोबार भएको छ । सो प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल, होमस्टे प्रवर्द्ध लगायतका स्टल राखिएको थियो ।

महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतका अनुसार प्रर्दशनीमा ६५ स्टल बुक भए पनि ६१ वटा राखिएको थियो भने पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा १५ लाख बढीको कारोबार भएको छ । उनले दैनिक रुपमा सरदर तीन लाख रुपियाँका हिसाबले कारोबार भएको जानकारी गराइन् । अध्यक्ष बस्नेतले भनिन, “ प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुहरुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।“

महिला उद्यमी सङ्घका अनुसार प्रदर्शनीमा रोल्पाली महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको छ । यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको छ । सोही प्रकारले गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले पनि राम्रै बजार पाएको जनाइएको छ । प्रदर्शनी स्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री पनि अत्यधिक बिक्री भएको थियो ।


उद्यमी महिलालाई प्रोत्साहन गर्ने उदेश्यले महिला उद्यमी सङ्घले स्टल निःशुल्क रुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगञ्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको थियो ।

महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनीहरु वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको हिउदे गाउँसभा बहिस्कार

३ माघ २०८०, बुधबार १८:१८
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकाको अध्यक्षको मनोमानीका बिरुद्ध बहुमत सदस्यले हिउदे गाउँसभा बहिस्कार गरेका छन् । बिहिबार हुने भनिएको डुडुवा गाउँपालिकाको हिउदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, जसपा र नेपाली काँगे्रसबाट निर्वाचित बहुमत सदस्यहरुले बहिस्कार गरेका हुन् । डुडुवा गाउँपालिकाकाको अध्यक्ष पदका लागि […]