सुशासनका लागि अनुशासन अनिवार्य शर्त हो : राठौर

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १५:१०
 

नेपालगञ्ज : नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले सुशासनका लागि अनुशासन अनिवार्य शर्त भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मंगलवार नेपालगञ्जमा आयोजना गरेको ‘सुशासनका लागि साक्षात्कारमा कार्यक्रम’मा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीहरुमा स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताए । उनले जनभावनालाई सम्बोधन गर्ने गरी नागरिकमैत्री सेवा प्रवाहको अपरिहार्यतामा जोड दिए । विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा उनले कर्मचारीहरुलाई जनताको सेवक भएर काम गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले जनताले अनुभूति गर्ने गरी सुशासन कायम गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासनका लागि उपमहानगर प्रतिबद्ध रहेको बताउँदै सुशासनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु एकितृत हुनुपर्नेमा समेत जोड दिए । उनले सुशासनका लागि प्रविधिमैत्री भएर काम गरिरहेको उल्लेख गरे ।


प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले सर्वसाधारणसम्म सूचनाको पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुशासनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी सेवा प्रदायक निकायहरुले काम गर्नुपर्नेमा जोड दिँदै गुनासो सुन्ने परिपाटीको विकास हुनुपर्ने बताए । कार्यक्रममा विभिन्न कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयका बारेमा बोलेका थिए ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, राप्तीसोनारीका उपाध्यक्ष मनिषासिंह थारु लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तिसोनारीमा आगलागी हुँदा ढाई लाखको क्षति

३० जेष्ठ २०८०, मंगलवार १५:१०
नेपालगञ्ज : बाँकेको राप्तिसोनारीमा आगलागी भएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ गोडियानपुर बस्ने शन्तोष परियारको १ तले २ कोठे काठले बनेको जलि खरले छाएको कच्चि घर, गोठमा आगलागी भएको हो । आगलागी सोमवार राती करिब १ः४० बजे भएको थियो । उक्त आगलागी बाट घर भित्रका सम्पुर्ण मालसामान र […]