सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगञ्ज उपमहानगर अनभिज्ञ

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १५:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण सामग्री (गिट्टी, मोरङ, बालुवा, इट्टा, छड) सडकमा राख्न नपाइने नियम बनाएको छ । छोटो समयका लागि राख्नै पर्ने भएमा वडा कार्यालय र उपमहानगरबाट अनुमति लिनुपर्ने हुन्छ । तर, नेपालगञ्ज उपमहानगरपालिकाले आफूले बनाएको नियम आफूले कार्यान्वयन गराउन सकिरहेको छैन ।

सडक अवरुद्ध हुने गरि निर्माण सामग्री राख्दा समेत उपमहानगरले हटाउन नसकेको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध हुने गरि निर्माण सामग्रीमा साइकल, मोटरसाइकल र अन्य सवारी साधन चिप्लिएर दुर्घटना निम्तिने खतरा बढेको छ । ‘आवतजावतमा समस्या हुने गरि निर्माण सामग्री राख्दासमेत उपमहानगर चुप लागेर बस्नुको कारण बुभ्mन सकिएन । घर निर्माण गर्ने ब्यक्तिसँग उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले पैँसा लिएर सडकमा राख्न दिएको आशंका छ,’ नेपालगन्ज उपमहानगरपालिका १३ का रामसुरेश यादवले भने ।

नेपालगञ्जको ब्यस्त चोक, गल्ली र सडकमा निर्माण सामग्री राख्दासमेत नगर प्रहरीहरुले नदेखेझैँ गर्छन् । कर्मचारीहरु मुन्टो बटारेर हिड्छन् । निर्माण सामग्री विच बाटोमा राखेकै कारण ट्राफिक ब्यवस्थापनमा समेत चुनौती थपिएको ट्राफिक प्रहरी बताउँछन् । ‘सडकमा निर्माण सामग्री राख्दा दुर्घटना हुने खतरा त छदैँ छ हामीलाई ट्राफिक ब्यवस्थापन गर्न समेत समस्या भएको छ,’ एक ट्राफिक प्रहरीले अनलाइन खोज खवरसँग भने, ‘सडकमा निर्माण सामग्री राखेको अनुगमन र निरीक्षण उपमहानगरले गर्नुपर्ने हो, तर गरेको देखिदैन ।’


सवारी साधन, ठेला, सडक पेटीको ब्यापार लगायत काम गर्न उपमहानगरले नगर प्रहरी राखेको छ । तर, नेपालगञ्जका सदरलाइन, त्रिवेणी मोड, रानीतलाउ रोड, त्रिभुवन चोक, इदगाह रोड लगायतका सडकमा अब्यवस्थित पार्किङ हुँदासमेत उपमहानगर नदेखेझैँ गरेर बसेको छ । ‘उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले अब्यवस्थित पार्किङ नदेखेका होइनन् । उनीहरु देखेर पनि नदेखेको जस्तो गरेका हुन् । सुतेकोलाई पनि ब्युझाउन सकिन्छ ।

सुतेको नाटक गरेकालाई कहाँ ब्युझाउन सकिन्छ,’ त्रिवेणी मोडका एक सर्वसाधारणले गुनासो गरे, ‘पसल अगाडी घण्टौ पार्किङ गरिदिँदा आउजाउमा समस्या भएको छ नै हाम्रो ब्यापार, ब्यवसायमा समेत असर परेको छ ।’ नेपालगञ्ज उद्योग बाणिज्य संघ अगाडी सवारी साधन सधैँ पार्किङ हुन्छन् । दिनभर पार्किङ हुँदासमेत त्यहाँ न त नगर प्रहरी पुग्छ न त जनप्रतिनिधि नै पुग्छन् । संघ अगाडी पार्किङ हुँदा सवारी आवागमनमा बाधा पुग्ने गरेको छ ।

रानीतलाउ तरकारी मण्डी छेउछाउ त झनै अस्तब्यस्त छ । सडकमै तरकारीको ठेला राखेर ब्यापार गरेपछि यो सडक दिनहुँ जाम हुने गरेको त्यहाँका ब्यापारी बताउँछन् । ‘सडकमा ठेला राखेर तरकारी विक्रि गरेकै कारण यो सडक हरेक दिन जाम भएर हिड्डुल गर्न समेत समस्या हुन्छ,’ एक ब्यापारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साईकल चोरीको आरोपमा वर्मा पक्राउ

२९ पुष २०८०, आईतवार १५:३८
नेपालगञ्ज : विगत लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिका भित्र चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि बाँके प्रहरी सक्रिय रुपमा लागेपछि अहिले चोरहरु धमाधम पक्राउ परिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८, रानीतलाउ नजिकबाट साईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपालगञ्जको वडा नम्बर ६ बस्ने ३९ वर्षीय राजेन्द्र […]