भारत हुँदै तेस्रो मुलुक गएका किशोरीको अवस्था अज्ञात

सदरलाइन संवाददाता १७ पुष २०८०, मंगलवार १५:४३
 

नेपालगञ्ज : रोजगारी तथा विभिन्न प्रलोभनमा परेर भारत लगायत तेस्रो मुलुकमा पुगेका किशोरी र बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपालले जनाएको छ ।

माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै खोजतलासका लागि निवेदन परेकामध्ये अझै तीन सय ८४ जनाको अवस्था पत्ता लाग्न नसकेको बताए । उनले जोखिमपूर्ण काम गर्न विदेश गएका ६६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनी परिवारबाट निवेदन परेकोमा २७८ जना मात्रै फेला परेको र अन्यको अवस्था अज्ञात रहेको बताए ।

कोइरालाले भने, “अज्ञात अवस्थामा रहेका ती किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन धेरै संयन्त्रलाई प्रयोग ग¥यो, तर केहीको अवस्था पत्ता लगायौ, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।“


मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने भारत र विदेशका विभिन्न संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जका अनुसार गत वर्ष जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ । विभिन्न जिल्लाबाट मानव दलालमार्फत् जोखिमपूर्ण काममा जान लागेका ती किशोरी तथा बालबालिकालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर घर फर्काइएको हो ।

माइती नेपाल नेपालगञ्जले गएको एक वर्षमा २ जना विरुद्ध मानव बेचबिखन सम्बन्धी घटनामा मुद्दा दर्ता गरेको थियो भने ४ जना किशोरीलाई सिपमूलक तालिम पनि प्रदान गरेको थियो । त्यसैगरी, एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरिएको र ३ वटा जबरजस्ती करणीका घटनामा माइती नेपालले पीडितको पक्षमा वकालत गरेको प्रमुख कोइरालाले बताए । उनले पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक सञ्जाल नेटवर्कको प्रयोग गरेर मानवबेचविखन भइरहेकोले सो नियन्त्रण पनि निकै चुनौतीपूर्ण बन्दै गएको बताए ।

विगतमा फेसबुक, टिकटक, भाइवर लगायतको प्रयोगबाट किशोरी र बालबालिकालाई विभिन्न प्रलोभन दिएर बेचबिखनका लागि सहमत गराइने गरिएकोमा हाल आएर पब्जी लगायतका गेमको माध्यमबाट पनि सो कार्य हुन थालेको जानकारी आएको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम्मर शाह दर्शनका लागि रुमिताद्धारा निःशुल्क बस सेवा

१७ पुष २०८०, मंगलवार १५:४३
नेपालगञ्ज : नेपालगञ्ज ४ की वडा सदस्य रुमिता श्रेष्ठले कम्मर शाह मेला दर्शनका लागि जान चाहने सर्वसाधरणलाई निशुल्क बस सेवा उपलब्ध गराकी छिन् । आफुले कम्मर शाह बाबा आस्थाको धरोहर भएको बताइन् । उनले दुई दिन बस सेवा निशुल्क गरिएको बताइन् । वडाबाट मेला जान चाहने गरिव तथा विपन्न नागरिकलाई […]