सोलारबाट उत्पादित बिद्युत राष्ट्रिय लाइनमा जोडियो

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १३:३९
 

नेपालगञ्ज : बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गोल्यान समूहको लगानी रहेको प्योर इनर्जी लिमिटेड अन्तर्गत निर्माण गरिएको सोलार विद्युत् परियोजनाका परियोजना प्रबन्धक चन्द्रभान यादवले २० मेगावाट विद्युत् उत्पादनका ब्लक १ र ब्लक २ गरी दुई आयोजना निर्माण सुरु गरिएकोमा ब्लक २ गत चैतमै सम्पन्न भई १० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए । ब्लक १ को १० मेगावाट अहिले उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनले बताए ।

उनले हाल रनियापुरमा निर्माण सम्पन्न भएको परियोजनाको र उत्पादन कार्य पहिलो पटक नेपाली कम्पनी नेक्सस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरेको बताए । सो कम्पनी प्योर इनर्जी लिमिटेड अन्तर्गतको नेपाली निर्माण कम्पनी हो ।


यसअघि गत चैतमा सम्पन्न निर्माण र विद्युत् उत्पादनको काम भारतीय कम्पनीमार्फत गराइएकोमा पहिलो पटक कुनै नेपाली निर्माण कम्पनीले सोलार उत्पादन गरेको परियोजना प्रबन्धक यादवले बताए । नेपाल विद्युत् प्राधिकरणका केन्द्रीय प्रतिनिधिहरू सुव्रत अर्याल र सीताराम सिग्देलको उपस्थितिमा हाल उत्पादन भएको १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रबन्धक यादवले बताए । सो अवसरमा कोहलपुर वितरण केन्द्रका इन्जिनियर जितेन्द्र शाहको पनि उपस्थिति थियो ।

गोल्यान समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न ६ वटा सोलार विद्युत् आयोजनाको निर्माण सुरु गरिएकामा बाँकेका दुई आयोजना सम्पन्न भई २० मेगावाट उत्पादन भएको बताए ।

दाङको सतबरियामा निर्माणाधीन दुई आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस २४ देखि नेपालगञ्जमा मेला आयोजना

३० मंसिर २०८०, शनिबार १३:३९
नेपालगञ्ज : महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले महिलाले उत्पादन गरेको वस्तुहरुको प्रवद्र्धन गर्ने उदेश्यले लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना गर्न लागेको जनाएको छ । महिला उद्यमी संघ नेपाल बाँके […]