सदरलाइनडटकम,
नेपालगञ्ज : युवालाई असल र चरित्रवान बनाउन नेपालगञ्जमा प्राथमिक शिक्षा वर्ग सञ्चालन गरिएको छ । हिन्दु स्वयमंसेवक संघ नेपाल नेपालगञ्जले बाँके, बर्दिया र सुर्खेतका ७२ जना युवालाई लक्षित गरेर शनिवारदेखि १६ गतेसम्म शिक्षा जागरण अभियान सञ्चालन गरेको हो ।
आवाससहितको प्रशिक्षणमा शारीरिक, बौद्धिक, मानसिक, धार्मिकलगायत सातवटा विषयमा बिभिन्न बिधिबाट दिक्षित गरिने स्वयंसेवक संघ नेपाल, पश्चिम क्षेत्रका प्रचारक विकुुल दाहालले बताए । जागरण अभियानमा डा. दिपक अधिकारी, भुवन चन्द्रा, नारायण प्रसाद ढकाल, कृष्णा पाण्डे, बासुदेव मिश्रलगायतले प्रशिक्षण दिनेछन् ।
हिन्दुधर्म, संस्कृतिको जगेर्नाका साथै ब्यक्तिलाई उत्तरदायी, कर्तब्यनिष्ठ र चरित्रवान बनाई समाजसेवी तथा असल नागरिक बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ । उद्घाटन सत्रमा पूर्वमन्त्री सर्वदेव ओझा, प्राध्यापक डा. जनार्दन आर्चाय, शिक्षिका एवं योग प्रशिक्षक कृष्णा पाण्डे, नेतृ रमारानी वैश्य, विश्वनाथ अग्रवाललगायतले आफनो संघर्ष र अनुभव साझा गर्दै युवालक्षित शिक्षाले असल समाज निर्माणमा मदत् पुग्ने विश्वास व्यक्त गरे ।
शारीरिक तर्फ योग, ध्यान, खेल र बौद्धिकतर्फ वेद, धर्मग्रन्धसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने र मानसिकतर्फ मनलाई कसरी एकाग्र बनाउनेबारे कला सिकाइने दाहालले बताए ।