राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले अटो र ईलेक्ट्रीक रिक्साका लागि रुट तथा दररेट निर्धारण गरेको छ । गाउँपालिकाले लामो प्रयासपछि रुट तथा दररेट निर्धारण गरेसँगै अब अटो र ईलेक्ट्रीक रिक्सा कानुनको परिधीभित्र बाँधिएका छन् ।
गाउँपालिकाले पक्की सडकका लागि पहिलो १ किलोमिटर दुरी बराबरको भाडा २० रुपैयाँ र ग्राभेल तथा कच्ची सडकका लागि पहिलो १ किलोमिटर दुरी बराबर २५ रुपैयाँ भाडा तोकिएको छ । त्यसपछि पक्की सडकका लागि प्रत्येक किमीमा ६ रुपैयाँ र ग्राभेल तथा कच्ची सडकमा प्रत्येक किमीमा ८ रुपैयाँका दरले भाडा तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
गाउँपालिकाले अटो र ईलेक्ट्रीक रिक्साको रुट तथा दररेट निर्धारणका लागि अध्यक्ष तप्तबहादुर पौडेलको संयोजकत्वमा एक समिति बनाएको थियो । उक्त समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले प्रष्ट्याए । गाउँपालिकाले अटो र ईलेक्ट्रीक रिक्सा ब्यवस्थापन सम्बन्धी कार्यविधी २०८० निर्माण गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष पौडेलले कार्यविधी अनुसार नै स्थानीय सरकारले अटो र ईलेक्ट्रीक रिक्साको रुट तथा दररेट निर्धारण गरेको बताए । रुट तथा दररेट निर्धारण भएसँगै अटो र ईलेक्ट्रीक रिक्साका बारेमा सर्बसाधारण नागरिकबाट जनगुनासो कम आउने उनको विश्वास छ । गाउँपालिकाले लगत्तै अटो तथा ईलेक्ट्रीक रिक्सा चालकलाई ट्राफिक साक्षरता अभियान पनि सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ ।