कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १४:३३
 

नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेत खण्डमा काम सकिनै लाग्दा बाँके खण्डमा भने अझै समस्या सुल्झिएको छैन । प्रसारण लाइन विस्तारको पहिलो खण्ड बाँकेको बैजनाथ गाउँपालिकामा स्थानीयको अवरोध छ ।

दोस्रो खण्ड अन्तर्गत बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका रुख कटानको प्रक्रिया सुरु हुन नसक्दा तीन वर्षदेखि आयोजना अगाडि बढ्न सकेको छैन । २०७९ असार ७ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले प्रसारण लाइनमा पर्ने रुख कटानको अनुमति दिए पनि निकुञ्ज क्षेत्रमा हालसम्म रुख कटानको प्रक्रिया सुरु हुन सकेको छैन ।

सरकारले आयोजनालाई रुख कटानको अनुमति दिए पनि निकुञ्जले कागजी प्रक्रिया नमिलेको भन्दै रुख कटानको प्रक्रिया अगाडि बढाउन दिएको छैन । आयोजनाको सुर्खेत खण्डमा भने १०० बढी टावरहरू निर्माण सम्पन्न भएका छन् । विद्युतको तार तान्ने काम अन्तिम चरणमा छ ।


पहिलो खण्ड बैजनाथ गाउँपालिका–१ को गाभर र वडा नं. ४ को बानियाभार क्षेत्रमा बस्ती तथा खेतीयोग्य जमिनमा असर हुने भन्दै स्थानीयले प्रसारण लाइन विस्तारको काम अगाडि बढाउन नदिएका हुन् । सो बस्तीबाट विद्युत् प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन असर पर्ने भन्दै स्थानीयले काम अगाडि बढाउन नदिने बताउँदै आएका छन् ।

अन्य विकल्प हुँदाहुँदै स्थानीयलाई मर्का पर्ने गरी गरिएको निर्णय आफूहरूलाई मान्य नहुने स्थानीयवासीको भनाइ छ । बस्ती र खेतीयोग्य जमिन जोगाएर प्रसारण लाइन विस्तार गर्नुपर्ने माग राखेका छन् । आयोजना कार्यान्वयनपूर्व तयार पारिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै गलत भएपछि स्थानीयले विरोध जनाउँदै आएको बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही बताउँछन् ।

बस्ती र खेतीयोग्य जमिनलाई जोगाएर लाइन विस्तार गर्न सकिने सम्भावना रहे पनि डिपिआर तयार गर्दा यसतर्फ ध्यान नदिँदा समस्या भएको अध्यक्ष शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने

२५ माघ २०८०, बिहीबार १४:३३
नेपालगञ्ज : नेपालगञ्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तीव्रता दिएपछि नेपालगञ्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो । नेपालगञ्जका विभिन्न पाँच स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये बुधवार साँझ गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ […]