नेपालगञ्ज : जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्जसम्म ल्याइएको सो औषधि मंगलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे ।
औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामग्री नेपालगञ्ज पुर्याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महशुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताए । उनले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको १३३ कार्टुन अति आवश्यक औषधि पठाएको जनाउँदै औषधिलाई प्रभावित जिल्लाहरुबाट आएको माग अनुसार तत्काल पठाउन शुरु गर्ने बताए । उनले प्रभावित जिल्लाहरुमा अहिले विभिन्न औषधि आवश्यक रहेको जानकारी आएकोले ती जिल्लामा माग बमोजिमको औषधि पठाउने बताए ।
भारत सरकारले पठाएको एक ट्रक औषधि चार हजार ५२६ किलो रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले यसअघि भारत सरकारले तीन खेपमा गरेर ठुलो टेन्ट १०८ पिस, टेन्टको फिटिङ ६१ पिस, सानो टेन्ट १२५ पिस, सो टेन्टको फिटिङ ६० पिस, तारपोलियन त्रिपाल ६२५ पिस, स्लिपिङ ब्याग पाँच हजार १२ पिस र कम्बल पाँच हजार ३० थान पठाइसकेको बताए । ती सबै राहत सामग्रीलाई तत्कालै जाजरकोट र पश्चिम रुकुम पठाइएको पनि उनले जानकारी दिए ।
औषधि हस्तान्तरणका अवसरमा बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, जिल्ला आपतकालीन सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवाली र औषधि व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुको पनि उपस्थिति थियो । (गोरखापत्रबाट)