तिहारमा पनि नेपाली उपभोक्ताको रुपईडिहामै भिड

सदरलाइन संवाददाता ३० कार्तिक २०८०, बिहीबार १३:३६
 

नेपालगञ्ज : तिहारमा पनि सीमापारि भारतको रूपईडिहा बजारबाट नै बाँकेका अधिकाशं उपभोक्ताले चाडपर्वको चाहिने सामान खरिद गरेका छन् ।

विगतका चाडपर्वजस्तै यस पटक पनि नेपालगञ्ज बजारमा खासै चहलपहल देखिएन । तर सामान खरिदका लागि सीमापारि जानेहरुको भिडले गर्दा नाकामा घण्टौ लाम लागेको दृश्य भने दैनिक जसो देखियो ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिद गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनिहरुलाई भन्सार राजस्व तिर्न लगाउन सुरु गरेपनि त्यसले उपभोक्तलाई सीमापारि जानबाट रोक्न सकेन ।

भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउनेहरुसँग नेपालगन्ज भन्सार कार्यालयले राजस्व असुलीमा कडाइ गर्दा खासै प्रभाव परेन । सीमापारि जाने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याउने गरेको पाइयो ।

तिहारको समयमा सीमापारिबाट दैनिक ६ करोड ५० लाखभन्दा बढीको व्यापार रुपईडिहामा भएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले चाडपर्वको बेला अत्यधिक बढ्ने गरेको सीमापारिको व्यापार कम गर्ने धेरै प्रयास गरिए पनि कम गर्न नसकिएको बताए ।


उनले नाकासँग जोडिएका नेपाली सहरका व्यवसायीका लागि सरकारले भन्सार र कर कम लिने व्यवस्था गर्नु पर्ने माग गर्दै त्यसो गर्न सकिएमात्रै सीमापारिका व्यवसायीसँग प्रतिस्पर्धा गर्न सकिने बताए ।

उता, नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान विक्रि गर्नु पर्ने अधिकाशं उपभोक्ताको सुझाव छ ।

नाकामा कडाइ गर्दैमा मात्रै सीमापारिबाट हुने खरिदारी नरोकिने जनाउँदै नेपालगञ्ज २० का रमेश थापाले यहाँ र त्यहाँको मूल्यमा धेरै फरक नपर्ने गरि व्यवसाय गरेमात्रै नेपालगञ्जको व्यवसाय बढ्ने बताए ।

उनले नेपालगञ्जका व्यवसायीले मूल्य नियन्त्रण र एकरुपता नगरेसम्म यहाँको बजार सुनसाननै रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होमस्टेमा थारु परिकार लोकप्रिय

३० कार्तिक २०८०, बिहीबार १३:३६
नेपालगञ्ज : ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे) को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, […]