प्रतिबन्धित भारतीय सुर्तीजन्य पदार्थको खुला बिक्री

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १४:०९
 
अनुगमनका क्रममा भेटिएको भारतीय सुर्तिजन्य पदार्थहरु

नेपालगञ्ज : भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगञ्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ ।

अवैधरूपमा भारतबाट भित्र्याइएका गुट्का लगायतका सुर्तीजन्य पदार्थ बाँकेमा जताततै पाउने गरेको छ । ठाउँठाउँमा जाँचका बावजुद स्थानीय बजारमा अवैध रूपमा भारतीय सुर्तीजन्य पदार्थ भित्रिने र बिक्रीका लागि राखिने क्रम भने रोकिएको छैन ।

सो बारेमा स्थानीयले बेला बेलामा प्रहरी प्रशासनको ध्यानाकर्षण पनि गराउँदै आएका छन् । तर नियमित र प्रभावकारी अनुगमन नहुँदा प्रतिबन्धित बस्तुहरुको बिक्रीमा कुनै रुकावट हुन सकेको छैन ।

बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि फेरि पनि स्थानीयले सो बारेमा गुनासो गर्दै अन्य अवैध आयात पनि रोक्न उनको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयको गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले प्रतिबन्धित भारतीय सुर्ति लगायत अन्य पदार्थको बिक्री रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गको नेतृत्वमा रहेको बजार अनुगमन समितिले अनुगमन सुरु गरेलगत्तै ठूलो परिमाणमा भारतीय गुट्का लगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले बजार अनुगमन समितिले ३८ हजार बढी मूल्यको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको बताए । उनले ३० वटा पसलमा मात्र अनुगमन गर्दा यति धेरै सुर्तिजन्य पदार्थ बरामद गरिएको जनाउँदै बजारमा धेरै ठूलो सङ्ख्यामा भारतीय सुर्ति रहेको आशंका गरिएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले भारतीय सुर्तिजन्य पदार्थ बिक्री गर्न पूर्णरुपमा रोक लगाइने जनाउँदै सो रोक्न पटक पटक अनुगमन गर्ने र नाकामा पनि थप कडाई गर्न लगाउने बताए ।

बाँकेमा भारतबाट ल्याइएका अवैध सामग्री लगायत म्याद गुज्रेका, लेवल नभएका सामानहरू बिक्री वितरण हुने समस्या निकै पुरानै भएको स्थानीयको भनाइ रहेको छ  ।

नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले जहिले अनुगमन हुँदा पनि बजारमा अवैध, म्याद गुज्रिएका र हानिकारक सामान बरामद हुँदै आए पनि नियन्त्रण फितलो रहेको गुनासो गरे ।

उनले दर्ता बिना पसल सञ्चालन गर्ने, मापदण्ड पुरा नगरी व्यवसाय सञ्चालन गर्ने, भारतबाट अवैध रूपमा गुणस्तरहीन खाद्यान्न भित्र्याएर बजारमा बिक्री गर्ने कार्य निरन्तर भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगालीहरु आफ्नो कला संस्कृतिको जगेर्ना गर्दै

१७ कार्तिक २०८०, शुक्रबार १४:०९
नेपालगञ्ज : बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा […]