आन्तरिक पर्यटकको रोजाइमा बाँकेको ढकेरी उद्यान

सदरलाइन संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १७:४७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित ढकेरी क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । त्यहाँ रहेका विभिन्न उद्यानका कारण आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् ।

वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको भीड हुने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताए । “शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भिडभाड हुने गर्छ”, उनले भने, “वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।”

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय परिकारको स्वाद चखाउने गरेका छन् । खास गरी त्यहाँ कुखुराको बँदिया भालेलाई साँधेर मौलिक परिकारका रूपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल सञ्चालन भएका छन् ।


ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगञ्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अर्ग्यानिक घरबास (होमस्टे)का सञ्चालक भरत खड्काले बताए । खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर त्यहाँको मौलिक स्वादलाई प्रवर्द्धन गर्दै आएका छन् । “यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँदिया भाले समेत उपलब्ध गराउने गरेका छौँ,” उनले भने ।

ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ । वि.सं २०५६ मा स्थापना भएको उद्यानमा चार सय ५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधैँ चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व–पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ । ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

उनका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत विस्तारलगायत पूर्वाधार विकासका काम भइरहेका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एस बाँकेले संगठन विस्तार अभियान चलाउने

१५ फाल्गुन २०८०, मंगलवार १७:४७
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) बाँकेले दुई महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । जेठमा हुने आफ्नो १०औं महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको हो । नेकपा एकीकृत समाजवादी बाँकेको पूर्ण बैठकले बाँकेका सबै स्थानीय तह र ८१ वडामा मुख्य अभियन्ता तोकी […]