सदरलाइनडटकम,
कोहलपुर (बाँके) : माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा प्रवेश गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमवारदेखि कोहलपुर प्रवेश गरेको हो । अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गरे ।
हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा सञ्चालन अभियानको पहिलो दिन मेयर रावतले खाना बितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने धारणा राखे । उनले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक सन्देश दिने बताए ।
पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ ।
यस क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा नं. २० को गायत्रीनगरमा खाना बितरण गरिएको छ ।