नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
नाकाबाट दैनिकजसो अवैध सामान बरामद गर्दैआएको प्रहरीले फेरि मोटरसाइकलसहित करिब डेढलाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल जयसपुर विओपीले दशगजा नजिकबाट मोटरसाइकलसहित करिब डेढ लाख रुपैयाँको आटोपार्ट बरामद गरेको छ ।
जानकी गाउँपालिका –१ पचपोखरास्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले ४० इएफ ४३७६ नम्बरको मोटरसाइकलसहित १ लाख ११ हजार ६३३ रुपैयाँ बराबरको आटोपार्ट बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल विओपी जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदैगरेको व्यक्ति मोटरसाइकल र सामान छाडेर भागेपछि ती सामग्री बरामद गरेर ल्याइएको सशस्त्र प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।
नेपालगञ्ज ल्याउन लागेको चिनी र प्याज विशेष सूचनाका आधारमा प्रहरीले बरामद गरेको छ । बरामद गरिएका चिनी र प्याज आटोपार्टको अन्दाजी मूल्य १ लाख ४३ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । उक्त सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक खत्रीले बताए ।