दश वर्षपछि अदालतले तोक्यो पेशी !

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १३:३६
 

नेपालगञ्ज : भेरी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईं विरुद्ध परेको मुद्दाको पेशी आगामी २०८० कार्तिक २१ गतेका लागि तोकिएको छ । २०७० असोज २३ मा आयोगले नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरेल डीजीज उपसमूहको नवौं तहको पद आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्नेगरी विज्ञापन प्रकाशित गरेको थियो ।

उक्त पदका लागि चापागाईं सिफारिस पछि नियुक्त भएका थिए । डा. चन्द्रभाल झाले उनीसहित लोकसेवा आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको पेशी आगामी कात्तिक २१ गतेका लागि तोकिएको बताइन्छ । उनको योग्यता नपुगेको भन्दै झाले लोकसेवामा उजुरी दर्ता गरेको जानकारस्रोत बताउँछ ।

चापागाईंको नियुक्ति सिफारिस कानूनविपरीत भएको भन्दै त्यतिवेला नै झाले लोकसवामा उजुरी दर्ता गराएका थिए । तर, आयोगले उनको सिफारिस कानून बमोजिम भएको भने पछि उनले सर्वोच्च अदालत गुहार्न पुगेको स्रोतले जानकारी दिएको छ ।

झाले अदालतमा दायर गरेको मुद्दामा ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ को देहाय ९ घ ले सम्बन्धित परिषदमा दर्ता नभएको व्यक्ति स्वास्थ्य सेवाको पदमा नियुक्ति हुन नसक्ने उल्लेख छ । उक्त व्यवस्था विपरीत विज्ञापनको दरखास्त दिने अन्तिम म्यादभित्र परिषदमा दर्ता नरहेका उम्मेदवार चापागाईंको सिफारिस कानूनविपरीत रहेको उनले जिकिर गरेका छन ।’

त्यस्तै, लोकसेवाबाट विज्ञापन नम्बर १७०७८–०७२–७३ खुल्ला, नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी समूह, लेप्रो भेनेरल डीजीज उपसमूहको एघारौं तहको डर्माटोलोजिष्ट पदका लागि प्रकाशित विज्ञापनमा समेत चापागाई उम्मेदवार रहेका थिए ।


उक्त पदमा नियुक्त भएका चापागाईंको नियुक्ति रद्द गर्नसमेत झाले आयोगसमक्ष माग गरेका थिए । तर, आयोगले भने चापागाईंको नियुक्ति कानूनसम्मत रहेको बताउदै आएको छ । लोक सेवाका अनुसार २०६३ जेठमा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत पदमा अस्थायी नियुक्ति पाएका उनले २०६३ चैत २७ मा नेपाल स्वास्थ्य सेवा जनरल हेड स्वास्थ्य समूह अधिकृतको सातौं तहको मेडिकल अधिकृत पदमा स्थायी नियुक्ति पाएर कार्यरत रहेको जानकारी दिएको छ ।

त्यसपछि २०६७ असोज १ गतेदेखि तीन वर्षका लागि अध्ययन बिदा लिई उनले एमडी अध्ययन गरेको र २०७१ असार २२ गते लोकसेवा आयोगको सिफारिसअनुसार नवौं तहमा नियुक्ति भएको आयोगको भनाई रहेको छ । नवौं र एघारौं तहको परीक्षामा समावेश हुँदा विशेषज्ञ वा परिषद् दर्ताअनुसार भएको आयोगले जनाएको छ । यही कारण उजुरीकर्ताको दाबी सत्य नदेखिएको समेत आयोगले बताएको छ ।

आयोग भन्छ, ‘एघारौं तहमा दरखास्त दर्ता गर्ने अन्तिम म्यादभित्र नै चापागाईंको एमबीबीएस र एमडी दुवै दर्ता देखिएको छ । उनले एघारौं तहमा परिषद् र विशेषज्ञ दर्ता नभई सिफारिस भएको भन्ने उजुरीकर्ताको दाबी सत्य छैन ।’

झाले डा. चापागाईंको नियुक्ति बदरको मागसहित लोक सेवालाई विपक्षी बनाएर मुद्दा हालेको वर्षौ बितिसक्दा पनि फैसला हुन सकेको छैन । बल्लतल्ल कार्तिक २१ गतेका लागि पेशी तोकिएको छ । यसपटक मुद्दा टुंगोमा पुग्छ कि भन्ने अपेक्षा रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दुई महिनामा भारतबाट ११ करोडको केरा आयात

१४ कार्तिक २०८०, मंगलवार १३:३६
नेपालगञ्ज : चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ मसान्तसम्म नेपालगञ्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चाडपर्वको सिजन भएका कारण यि दुई महिनामा केरा आयात अत्याधिक हुने गरेको छ । यो अवधिमा २४ […]