हराउँदै छ पिङ खेल्ने परम्परा

सदरलाइन संवाददाता ५ कार्तिक २०८०, आईतवार १४:२६
 

नेपालगञ्ज : दसैँ तिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ ।

पिङ खेल्न स्थानीय युवायुवतीको घुइँचो लाग्ने गर्छ तर पछिल्लो समयमा हिङलो अर्थात् पिङको सङ्ख्या र प्रयोग घट्दै गएको छ । केही मन्दिरमा हिङलो लोप भइसकेको छ, मालिकार्जुनका स्थानीय वीरसिंह धामीले बताए ।

हिङलोसमेत जीर्ण अवस्थामा रहेकाले दुर्घटनाको जोखिम बढेको छ । अधिकांश मन्दिरमा हालिएका हिङलो संरक्षणको अभावमा काठ कुहिएर जीर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् ।

युवापुस्तामा हिङलो खेल्ने उत्साहमा कमी आएको हुँदा प्रयोग घट्दै गएको स्थानीय कृष्ण पालले बताए । पछिल्लो पुस्तामा नयाँ हिङलो बनाउने सिपसमेत कम देखिन्छ । हुनैनाथ मन्दिर औतालेकमा रहेको काठको हिङलो (पिङ) पनि केही महिना अगाडि जीर्ण भएर ढलेको थियो ।


उक्त हिङलो पुनर्निर्माणका लागि गाउँपालिकाले छलफलसमेत गरेको छ । उकुका पाल परिवार, बाकुका चन्द तथा लिमाका परिवारले मन्दिरमा हिङलो पिङ चढाएर स्थापना गरेको इतिहास रहेको बताइन्छ ।

उक्त परम्परा जोगाउन यिनै परिवारले मन्दिरमा हिङलो पिङ चढाउने निर्णय गरिएको हुनैनाथ मन्दिरका उद्धव सिंह धामीले बताए । नापजाँच गरेर काठ बनाउन सुरु गरिएको र केही दिनभित्रै मन्दिरमा हिङलो राखिने उनको भनाइ छ ।

यस्तै लेकमको भगवती मन्दिर कृणी, मालिकार्जुन मन्दिर मैखोलीलगायत देवीदेवताका मन्दिरमा रहेको हिङलो पिङसमेत पछिल्लो समय जीर्ण बन्दै गएका छन् । भगवती मन्दिर कृणीमा रहेको हिङलो पिङ जीर्ण अवस्थामा रहेकाले पिङ खेल्न बन्द गरिएको लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।

युवापुस्ताले आधुनिकतालाई पछ्याउँदा परम्परा संस्कार र संस्कृति हराउँदै जान थालेको छ । संस्कृतिका धरोहरहरू लोप भइरहेका छन् । दसैँमा एक पटक भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यता भए पनि त्यसमा युवाको चाँसो देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दर्ता नभएका मोबाइल नेपालमा नचल्ने

५ कार्तिक २०८०, आईतवार १४:२६
काठमाण्डौ : अबदेखि नेपालमा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएसँगै दर्ता नभएका मोबाइल नचल्ने भएका हुन् । प्राधिकरणले सूचना जारी गर्दै १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नभएका मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको हो […]