सल्यानमा जीप दुर्घटना, बालकसहित ८ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ आश्विन २०७९, बुधबार १३:२१
 

सल्यान : सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा बालकसहित ८ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राती १२ बजे इन्ट्रि गरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा मंगलवार राती सवा १ बजेतिर दुर्घटनामा परेको थियो ।

जीप सडकबाट करिव ७० मिटर जति तल खसेको छ । जीपमा सवार ९ मध्ये ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटले जनाएको छ । मृतकमध्ये एक महिला र ७ जना पुरूष रहेको बताइएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलवाङका जीप चालक २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षका टोपबहादुर ओली, ११ वर्षीय बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षका खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् ।


मृतकमध्ये खुमलाल, कुमारी, धर्म, ललित र बसन्त एकै परिवारका हुन् । दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षका तिलक ओली घाइते भएका छन् । घाइतेलाई उपचारका लागि दाङ ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले हालसम्म ८ जनाको मृत्यु भएको बताए । ‘दुर्घटनामा ८ जनाको मृत्यु भएको छ,’ उनले भने । प्रहरीका अनुसार बाँकेबाट उनीहरु सबै बिवाहको भोज खाएर सल्यानस्थित घर जादै गरेका थिए ।

मध्यराति साढे १ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाउँदा उद्धार गर्न समस्या भई मृतकको संख्या बढेको स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटना भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कपुरकोटबाट बिहान साढे ४ बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैंको तेस्रो दिन बुधवार चन्द्रघण्टाको पूजा आराधना गरी मनाईंदै

१२ आश्विन २०७९, बुधबार १३:२१
नेपालगञ्ज : बडा दशैंको तेस्रो दिन बुधवार भगवती चन्द्रघण्टाको पूजा आराधना गरी मनाईंदैछ । चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरुप भगवती चन्द्रघण्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको […]