अपाङ्गता भएका ब्यक्तिहरुको प्रजनन् स्वास्थ्य सेवाः ऐनमा व्यवस्था, व्यवहारमा छैन कार्यान्वयन

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १२:२२
 

नेपालगञ्ज :  नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरे पनि नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले अपांगता भएका महिलाहरुको प्रजनन् हक भने सुरक्षित नभएको बताएका छन् ।

नेपालगञ्ज परिवार नियोजन संघ बाँके शाखाको आयोजना र भेष्टोलिटो नामक अन्तराष्ट्रिय संस्थाको सहयोगमा आयोजित एक दिवशिय तालिमका सहभागिहरुले सो कुरा बताएका हुन् ।

तालिमको उद्घाटन सत्रमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बाँके कि अधिकृत सुनिता पौडेलले प्रजनन स्वास्थ्य तथा प्रजनन्सम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको भए पनि अपांगता भएका ब्यक्तिहरुको हकमा अपांगता मैत्रि संरचना, वातावरण र मनोबृत्ती नहुँदा उनीहरुले सजिलै सेवा नपाएको बताईन । उनले अपांगतामैत्री भौतिक संरचनालाई पहिलो प्राथमिकता दिनुपर्ने जोड दिईन ।

कार्यक्रमका प्रशिक्षक सिता बोहराले मानव सृष्टिसंग सम्बन्धित प्रजनन अधिकारको सवाल हाम्रो समाजमा लाज र शरमको विषय बनेको बताईन । उनले अझ गर्भपतनलाई डर, त्रास, लाज, कलंक र महिलाको इज्जतसँग जोडिने हुँदा हाम्रो समाजले अपांगता भएका ब्यक्तिहरु बिच यौन सम्पर्क हुनु, गर्भ रहनुलाई आश्चर्यपुर्ण रुपमा मात्र नभई ठट्टाको बिषय बनाउनाले एकाध बाहेक सेवाग्राहीले स्वास्थ्य सेवा लिन नसकेको जानकारी दिईन ।

तालिमका सहभागिहरु नेपालगञ्जका बिभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरु रहेका थिए । छलफलका क्रममा उनीहरुको अपांगता भएका ब्यक्तिहरुको अनिच्छित गर्भ रह्यो भने गर्भपतन सेवा लिन सामान्य महिलालाई जति सहज छ, शारीरिक अंग तथा प्रणालीको कठिनाइकै कारण अपांगता भएका महिलालाई त्यति नै असहज छ ।

उनीहरू एक्लै स्वास्थ्य संस्थासम्म पुग्न सक्दैनन, कोही सहयोगी लिएर जानुपर्छ । सेवाप्रदायकले जति नै गोपनियतालाई ख्याल गरेर सेवा दिन्छु भने पनि सहयोगीमार्फत सूचना बाहिरिन्छ । अपांगतालाई ‘पूर्वजन्मको पाप खेपेको’ मान्ने परिवार र समाजमा गर्भपतन गरेर फर्कंदा झन अपमानित हुनुपर्ने डरले उनीहरू असुरक्षित गर्भपतनको बाटो रोज्छन । यसले गर्दा उनीहरूको स्वास्थ्यमा थप जटिलता निम्तिने गरेको खुलासा गरेका थिए ।


तालिमको अर्का सहजकर्ता बिष्णु श्रेष्ठले प्रजनन प्रक्रियामा पुरुषका तुलनामा महिलाको सहभागिता बढी हुन्छ महिनावारी हुने, गर्भधारण गर्ने, सन्तान जन्माउने लगायतका प्रक्रियामा यौन र प्रजनन स्वास्थ्यको सम्पूर्ण भार महिलामाथि पर्ने बताए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका सभापति बद्रु दुजा खानले नेपालगञ्ज जस्तो शहरमा पनि अपांगता भएका ब्यक्तिहरुले झेल्नु परेको समस्या कहालिलाग्दो भएको बताए । कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ बाँके शाखा प्रमुख रश्मि श्रेष्ठले गरेकी थिईन ।

कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुलाई उनीहरुमा भएको शारिरीक वा मानसिक सिमितताका कारण सेवाप्रदायक पत्ता लगाउन गाह्रो हुने, ह्वीलचेयरमैत्री बाटोघाटो नहुँदा र बहिराको लागि सांकेतिक भाषा दोभाषे वा सहयोगी लैजानुपर्ने, गर्भपतन गर्ने केन्द्र प्राय भवनको भित्रपट्टि, माथिल्लो तलामा हुने लगाएतका सवाल उठाइएको थियो ।

यी सम्पूर्ण असहजताले गर्दा गोपनीयताको चुनौती सहेरै सेवा लिन जाँदा पनि अपांगता भएका महिलालाई सेवाप्रदायकले ‘अपांग भएर पनि यस्तो काम गर्ने भन्दै अपमान गर्ने बताएका थिए । अर्कातिर, गर्भनिरोधक साधनहरूसमेत अपांगतामैत्री छैनन् जस्तो— गर्भनिरोधक चक्की (पिल्स) को रङ दृष्टि सम्बन्धी अपांगता भएकाहरूले छुट्याउन सक्दैनन, दोस्रो व्यक्तिको सहयोग लिनैपर्ने हुन्छ । त्यस्ता चक्कीको बनोट बेग्लाबेग्लै बनाइदिने हो भने उनीहरूले स्पर्श गरेर थाहा पाउने थिए, आत्मनिर्णय र आत्मसम्मानका साथ चक्की प्रयोग गर्न सक्थे ।

तालिमको समापनमा बोल्दै भेरी अस्पतालकी सामाजिक शाखा प्रमुख आशा पन्तले अरूलाई सामान्य लाग्ने यस्ता पक्षहरूले उनीहरूको जीवनमा ठूलो अर्थ राख्ने बताईन । हामी मर्यादित यौन जीवन र आत्मसम्मानसहितको सार्वजनिक सेवासुविधाको वकालत त गर्छौ तर अपांगता भएका ब्यक्तिहरुलाई प्रदान गरिने यस्ता सेवाहरुलाई पनि मर्यादिन र सहज बनाउने कि ? भन्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया मधुवनको आनन्द अधारभूत विद्यालयमा प्लानद्वार हातधुने स्थान हस्तान्त्रण

१ कार्तिक २०८०, बुधबार १२:२२
बर्दिया : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तथा भेरी वातावरणिय बिशिष्टता समुह (बि–गु्रप)द्वारा बर्दियाको मधुवन–५ रामनगरमा रहेका आनन्द आधारभुत विद्यालय परिसरमा निर्माण गरिएको बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान हस्तान्त्रण गरिएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरालाल भाट आथित्यतामा सो हातधुने स्थान हस्तान्त्रण गरिएको हो । प्लान इन्टरनेशनल […]