महोत्सवको थारू बस्तीमा रमाउँदै दर्शक

सदरलाइन संवाददाता १४ माघ २०७९, शनिबार १३:२०
 

नेपालगञ्ज : नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारू संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारू संस्कृति हेर्न र थारू परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ ।

महोत्सवका १७ वटा कक्षमा थारूगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताए । थारू गाउँमा थारू संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उनको भनाइ छ । महोत्सवभित्र राखिएको थारू गाउँका कक्षमा थारू परिकार सजिएका छन् । महोत्सव हेर्न आएका दर्शकको थारू परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ ।

थारू गाउँमा थारू परिकार घोघी, बंगुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिंगे माछा, गंगटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले जानकारी दिए ।

महोत्सव हेर्न आउने अधिकांश दर्शक थारू गाउँ जाने गरेकाले थारू गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काको भनाइ छ ।


महोत्सवमा थारूको कला संस्कृतिको प्रवद्र्धनका लागि थारू गाउँ सञ्चालन गरिएको उनको भनाइ छ । पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो ।

गत मंगलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासंघका महासचिव जीआर भुसालले बताए ।

महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटकीय क्षेत्र गाभरमा चक्रपथ निर्माण गरिने

१४ माघ २०७९, शनिबार १३:२०
नेपालगञ्ज : बाँकेको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको गाभरको सौन्दर्य अवलोकनका लागि चक्रपथ निर्माण गरिने भएको छ । बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर चक्रपथ निर्माण कार्य अघि बढेको जानकारी दिए । “करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम मात्रै […]