कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कार्की र माओवादी केन्द्रका आङ्बो दुबैको दाबी पेश

सदरलाइन संवाददाता २५ आश्विन २०८०, बिहीबार १८:४३
 

मोरङ  : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेश भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन ।

गठबन्धन दलका शीर्ष नेताहरुबीच विहीबार दिउँसो काठमाडौंमा भएको सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अपरान्ह ५ बज्नुभन्दा केहीबेरअघि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका थिए । उनले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेश गरेको हुन ।

  यसैगरी शीर्ष नेताहरुबीच भएका सहमतिप्रति असन्तुष्ट आठ जना नेपाली कांग्रेसका सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ सांसदको हस्ताक्षर सहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।

एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको उपस्थितिमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा  उपस्थित भएर  दावी पेश  गरेका हुन । शीर्ष नेताहरुबीच भएको सहमतिको विपक्षमा हस्ताक्षर गर्नुहुने सबै सांसद कांग्रेस नेता डा. शेखर कोइराला पक्षका हुन ।


उनीहरुले नेपाली कांग्रेसको नेतृत्वमा कोशीमा सरकार गठन गर्नुपर्ने तर कांग्रेसले यसअघि मुख्यमन्त्रीको रुपमा अगाडि सारेको व्यक्तिलाई नै पुनः अगाडि सार्न नहुने अडान लिंदै आएका थिए ।

नेपाली कांग्रेसका सांसदहरु केदार कार्की, रामकुमार खत्री, शम्सेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङले कार्कीको पक्षमा हस्ताक्षर बुझाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । (गोरखापत्रअनलाइनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट

२५ आश्विन २०८०, बिहीबार १८:४३
नेपालगञ्ज : नेपालगञ्जको बिपी चोक नजिकै आगलागी हुँदा ७ बढी पसल जलेर नष्ट भएको छ । नेपालगञ्जको बिपी चोक सुर्खेत रोड आर्या ट्रेडर्स फर्निचर पसलबाट बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी शुरु भएको बताइएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा रहेको उक्त पसलबाट सल्केको आगोले ७ वटा पसल जलेर नष्ट भएको […]