विद्यार्थी नभएको विद्यालयका एक्ला शिक्षक

११ जेष्ठ २०७६, शनिबार १५:१८
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर ५ नानुपूर्वामा रहेको जनता कल्याण नेपाल राष्ट्रिय प्राविका निमित्त प्रधानाध्यापक जगदीशप्रसाद रोकाको दिनचार्य अहिले बिहान विद्यालय जाने र विद्यालयको समय भरी एक्लै कार्यालयको ढोकामा काटेर फर्कदै ठिक्क भएको छ ।
सामुदायिक विद्यालयमा यो वर्षको भर्ना अभियान सम्पन्न भइसकेको छ । एक जना विद्यार्थी पनि भर्ना नभएपछि बाँकेको डुडुवा गाउँपालिकाको एक विद्यालयका शिक्षक कर्मचारी भने विद्यालय खोलेर समय बिताउन बाध्य छन् । उनको यो अवस्था भने चालु शैक्षिक सत्र सुरु भएपछि मात्र आएको हो । उनी विद्यार्थी नभएको विद्यालयका एक्ला शिक्षक हुन ।
गत बर्षदेखि नै विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएको अवस्थामा यो वर्ष त एक जना पनि विद्यालय भर्ना हुन नआएपछि गत बैशाख २ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थी आउछनकी भन्दै कुरेर बस्नु बाध्यता भएको छ ।
२०३४ सालमा स्थापना भएको यो विद्यालय कक्षा ५ सम्म स्वीकृत छ । तर, विद्यार्थी भने एकजना पनि छैनन् भन्दै उनले भने–‘गत शैक्षिक सत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन, नियमित रुपमा विद्यालय पढ्न आउने विद्यार्थीको संख्या दुई÷तीन भन्दा बढी कहिल्यै भएनन् । त्यतिबेलादेखि नै हामीले जिल्ला तथा गाउपालिका र स्थानीय अभिभावकलाई विद्यालयको अवस्थाबारे जानकारी गराएका थियौ । कतैबाट पनि कुनै चासो देखाईएन ।’
उनले विद्यालयमा अंग्रेजी माध्यामबाट निशुल्क पढाउदा पनि स्थानीय अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा बोर्डिङ्गमा पढाउछु भनेर बोर्डिङ्गतिरै पठाएपछि विद्यालय विद्यार्थी बिहीन भएको बताउदै भने–‘ हामी शिक्षकले मात्र के गर्न सक्छौ र अभिभावकले नै साथ नदिए पछि ।’ उनले गाउपालिका र जिल्ला शिक्षा समन्वय ईकाईले चाँडै विद्यालय समाजयोजन वा मर्ज गरेर आफ्नो व्यवस्था गरिदिन आग्रह समेत गरेका छन् ।
उनले गत वर्षसम्म २५ जना विद्यार्थी र तीन शिक्षक एक कार्यालय सहयोगी भएकोमा अहिले भने तत्कालिन प्रअ शंकर सिंहले बैशाख १ देखि अवकाश लिएको र अर्का शिक्षक मालती प्रसाद यादव शिक्षा सेवा आयोग उतिर्ण गर्न नसकेर अनिबार्य अवकासमा परेपछि आफु र एक जना कार्यालय सहयोगी मात्र रहेको बताए ।
उनले भने–‘ विद्यार्थी भर्नाको लागि विद्यालयको कार्य क्षेत्रका सबै घरघरमा कार्यालय सहयोगीसहित पुगे तर, अभिभावकको बोर्डिङ्ग मोहका कारण विद्यार्थी नै भर्ना नभएपछि विहान विद्यालय समयमा विद्यालय खोलेर समय बिताउने जाने काम भएको छ ।
निकै थोरै विद्यार्थी भर्ना हुँदा गत वर्ष नै विद्यालय मर्ज गर्ने कुरा उठ्यो पनि मर्ज नभएको यो वर्ष विद्यालयले वैशाखको पहिलो साता भर्नाका लागि घरदैलो ग¥यो तर एक जना पनि विद्यार्थी भर्ना नभएको विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बच्चा बोडिङ्ग तिरै पठाएपछि अरुले त झनै विद्यालय किन पठाउने भन्दै प्रश्न गर्छन उनी ।
पक्की ७ कक्षा कोठा रहेको विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा गाउपालिकाको ५ नं.वडा कार्यालयले २ कोठा प्रयोग गरेको छ भने एक कोठा विद्यालयको कार्यालय सञ्चालन गरी बाँकी कोठामा ताला लगाईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा भन्दा अभिभावकले बोडिङ्गमा नै पढाउन रोजाई बनाएको कारण विद्यालय विद्यार्थी विहीन बन्न पुगेको बताए । उनले भने–‘मैले मेरै घरकी नातिनीलाई बोर्डिङ्गमा भर्ना गर्न बाध्य भए । छोरा बुहारीलाई जत्ति सम्झाए पनि मानेन् ।’
२०३४ सालमा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो । तर, अहिले अभिभावकको बोर्डिङ मोहका कारण विद्यार्थी घटेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरबहादुर बोहोराले बताए । उनले पञ्चायत कालमै निमावि तह माग गर्दा तत्कालिन जिल्ला सभापतिको राजनीति स्वार्थको कारण नदिएपछि विस्तारै पछि पर्दै गएको यो विद्यालय अहिले बिद्यार्थी बिहीन हुँदा आफुलाई पनि नमज्जा भएको बताए ।
उनले आफ्ना नातीहरुलाई यसै विद्यालयमा भर्ना गर्न सरकारी जागिरमा रहेका छोराहरुलाई भन्दा नमानेर नजिकको बोर्डिङ्गमा पठाएको दुखेसो गरे । ‘उनीहरुले हामी हाम्रा छोराछोरीलाई दाउरा बेचेर भएपनि बोडिङ्गमा पढाउछौ तपाई नबोल्नुस भनेर बचन लगाए पछि चुप लागे’– उनले दुखेसो पोखे ।
पूर्वअध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सिंह बोहोराले राज्यको शिक्षा नीतिको कारण सामुदायिक विद्यालयको अवस्था नै धराशायी भएको आरोप लगाए । उनले स्थलगत सर्वेक्षण नै नगरी धमाधम नीजि विद्यालयलाई स्वीकृती दिएको कारणले पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो रहेको दाबी गरे ।
विद्यालय रहेको डुडुवाको वडा नम्बर ५ मा अहिले ५ वटा बोर्डिङ र दुई वटा सामुदायिक माध्यमिक विद्यालय छन् । डुडुवा गाउँपालिकाले विद्यार्थी भर्ना नभएपछि मर्ज गर्ने जनाएको छ ।

Next Post

कोचिङ सेन्टरमा आगलागी, मृतकको संख्या १९ पुग्यो

११ जेष्ठ २०७६, शनिबार १५:१८
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सुरत शहरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या शनिवार १९ पुगेको छ । मृतकमध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा परि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ सेन्टरमा रहेका विद्यार्थी […]