एक महिनामै डेढ करोडको प्लाइउड भारत निर्यात

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:२६
 

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक महिनामै डेढ करोड रुपैयाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।

सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगञ्ज नाका हुँदै प्लाइउडको निर्यात बढेको छ । गत आवको साउन महिनामा ५३ लाख रुपियाँको प्लाइउड भारत निर्यात भएकामा चालु आवको सोही अवधिमा त्यसको करिब तीन गुणा बढी निर्यात भएको छ ।

शिखर प्लाइउड उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सरकारले प्रोत्साहन गरेपछि प्लाइउड उद्योगको निर्यात बढेको जनाउँदै यसले उद्योगी व्यवसायीलाई निर्यात व्यापारका लागि निकै उत्साहित बनाएको बताए ।


कोहलपुर नगरपालिका–१४, हवल्दारपुरमा रहेको बोथराको शिखर प्लाई उद्योगले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । बाँकेका अन्य उद्योगले पनि भारतको लखिमपुर र लखनउमा प्लाइउड बेचिरहेका छन् । वन डिभिजन कार्यालयबाट स्वीकृति पाएपछि ट्रान्जिट परमिट लिएर प्लाइउड भारत निर्यात हुँदै आएको छ ।

उद्योगी बोथराका अनुसार विगतमा नेपाली प्लाई उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थका लागि भारतमा निर्भर रहनुपर्ने अवस्था रहेकामा पछिल्लो समयमा नेपालमै कच्चा पदार्थको उत्पादन हुन थालेकाले सहज भएको छ । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको प्लाई भारतमा निकै मन पराउन थालिएकाले निर्यात बढ्दै जाने उद्योगीको भनाइ छ ।

प्लाइउड उत्पादक सङ्घका पूर्वअध्यक्षसमेत रहेका उद्योगी बोथराले नेपाली उत्तिसको प्लाइउडको भारतमा उच्च माग रहेको जनाउँदै अब नेपालमा कच्चा पदार्थका लागि किसानलाई रुख लगाउन प्रोत्साहित गर्नुपर्ने बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आव २०७९/८० मा नेपालगञ्ज नाकाबाट १४ करोड मूल्य बराबरको २१ लाख क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको थियो । चालु आव २०८०/८१ को पहिलो महिनामै डेढ करोडको निर्यात भएपछि यो वर्ष गत वर्षभन्दा दोब्बर बढीले निर्यात वृद्धि हुने अनुमान भन्सार कार्यालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा स्क्रबटाइफस र डेङ्गु संक्रमित बढ्दै

३१ भाद्र २०८०, आईतवार १४:२६
नेपालगञ्ज : पछिल्लो समय बाँकेमा बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ । बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन् । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताए […]

सम्बन्धित