नौबस्ता औद्योगिक क्षेत्र निर्माणमा ढिलाई, व्यवसायी निराश

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १४:००
 

नेपालगञ्ज : बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेको ढिलाईले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी नबढ्दा त्यहाँ उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका उद्योगी व्यवसायी निराश बनेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नौबस्ता औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि सात वर्षअघि प्रस्ताव पेश गरेर निर्माण पुरा हुने र उद्योग सञ्चालन गर्ने आशामा रहेका उद्योगी व्यवसायीहरु हाल आएर निराश बनेको बताउँछन् । उनले आवेदन दिएको सात वर्ष बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका सय बढी उद्योगी व्यवसायीहरु निराश बनेको बताए ।

निवर्तमान अध्यक्ष मन्सुरीले भने, ‘सात वर्षसम्म पनि औद्योगिक क्षेत्र नबन्दा उद्योग खोल्ने योजना बनाएर लगानी समेत जुटाईसकेका उद्योगी व्यवसायी सर्वाधिक मर्कामा परेका छन् । तीमध्ये कतिले त अन्य ठाउँमा उद्योग व्यवसाय समेत शुरु गरिसकेका छन् ।’

औद्योगिक क्षेत्रमा उद्योगका लागि आवेदन दिएका उद्योगीले पटकपटक निर्माण सुरु गर्न विभिन्न माध्यमबाट दवाव दिईरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।


औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा परेकोले सो नहटेसम्म पूर्वाधार निर्माणको काम सुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम ुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधिले पटक पटक अतिक्रमण हटाउने प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राविधिक समिति गठन गरिएपनि अवरोध हटाउन सकिएको छैन ।

औद्योगिक क्षेत्रको डिपिआर भएको क्षेत्रभित्र ६४ वटा घरहरु रहेको भन्दै ती घरहरुको व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिएको थियो तर हालसम्म पनि सो सुझाव कार्यान्वयन हुन सकेको छैन ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले घोषणा गरिएको एक दशकभन्दा बढी बित्दापनि औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्नु निकै दुःखद रहेको बताए । उनले तत्काल समस्या समाधान गरेर सो औद्योगिक क्षेत्रको पुर्वाधार निर्माण शुरु गरिनुपर्ने माग समेत गरे । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोरमै पुगेर बाघले खान्छ बाख्रा

१५ भाद्र २०८०, शुक्रबार १४:००
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ । पछिल्लो पटक मंगलबार बाघले बबई गाउँपालिका–२, जहरेबास ट्वाङखोलामा १३ वटा बाख्रा मारेको छ । बबई गाउँपालिका वडा नं. २, जहरेबास ट्वाङखोलाका छविलाल खत्रीका १३ वटा बाख्रा जङ्गलमा चराउन […]