सदरलाइनडटकम,
डुडुवा (बाँके) : फरुवाले हिर्काउँदा बाँकेमा महिलाको मृत्यु भएको छ । फरुवाले हिर्काउँदा डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वाका ५० वर्षीय बुद्धिराम मुराउकी अन्दाजी ३५ वर्षीया पत्नी राधा मुराउको मृत्यु भएको हो ।
राधा बुद्धिरामकी दोस्री श्रीमती हुन् । घर नजिकैको बारीमा आलु खन्ने र प्याजमा पानी सिंचाइ गर्ने क्रममा बुद्धिरामले पत्नी राधालाई फरुवाले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी नायव निरीक्षक झुपासिंह ठकुरीले जानकारी दिए ।
दिउँसो करिव २ बजे जानकारी पाएपछि घटनास्थल पुग्दा राधाको मृत्यु भइसकेको बताउँदै उनले घटनालगत्तै बुद्धिराम फरार भएको बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नेपाल–भारत सीमानजिक भएकोले उनी भारततिर गएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
