जंगली जनावरको आक्रमणबाट बाँकेमा एक वर्षमा एकको मृत्यु

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १४:५८
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले गत आर्थिक वर्षमा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको र चार सय ८७ वटा घटना घटेको जानकारी दिए ।

बाहिरी जिल्लामा जङ्गली जनावरको कारणबाट एक जनाको मृत्यु भएको र सम्बन्धित सरोकारवाला निकायको सिफारिसमा बाँके राष्ट्रिय निकुञ्जबाट राहत स्वरुप रकम उपलब्ध गराइएको उनले बताए । उनका अनुसार बाँके जिल्लामै भने जङ्गली जनावरको आक्रमणबाट कसैको मृत्यु भएको छैन ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको सिफारिसमा भालुको आक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिका परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराइएको उनले जानकारी दिए ।

गत वर्ष जङ्गली जनावरको आक्रमणमा परी दुई जना सामान्य र चार जना सख्त गरी ६ जना घाइते भएको निकुञ्जका सहायक संरक्षण अधिकृत कुलनारायण चौधरीले जानकारी दिए ।


चौधरीका अनुसार चितुवाको आक्रमणमा एक र हात्तीको आक्रमणमा एक गरी दुई जना सामान्य घाइते भएका हुन् । सामान्य घाइते भएका उनीहरुलाई क्रमशः १४ हजार तीन सय ७७ र २० हजार गरी कुल ३४ हजार तीन सय ७७ रुपैयाँ उपचार स्वरुप प्रदान गरिएको छ ।

यस्तै, हात्तीको आक्रमणबाट एक, बाघको आक्रमणबाट एक, भालुको आक्रमणबाट एक र मगर गोहीको आक्रमणबाट एक गरी चार जना सख्त घाइते भएको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार सख्त घाइते भएका चार जनालाई उपचार खर्च स्वरुप पाँच लाख ३७ हजार दुई सय १८ रुपियाँ निकुञ्जले प्रदान गरेको छ ।

त्यसैगरी, जङ्गली जनावरको आक्रमणबाट एक सय ५९ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसको राहत स्वरुप २१ लाख एक हजार एक सय ५० रुपैयाँ प्रदान गरिएको छ ।

जङ्गली जनावरले तीन सय २१ पटक अन्नबालिमा क्षति गरेको पाइएको छ । जसको क्षति वापत निकुञ्जले १४ लाख ९१ हजार सात सय १० रुपैयाँ उपलब्ध गराएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जका जनावरका कारण चार सय ८७ घटना भएका छन् । जसको राहतस्वरुप निकुञ्जले ५१ लाख ६४ हजार चार सय ५५ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीलाई कानुन सिकाउँदै बाँके प्रहरी

१९ श्रावण २०८०, शुक्रबार १४:५८
नेपालगञ्ज : बाँके प्रहरीले पछिल्लो समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रहरीले नेपालगञ्जस्थित मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुनसम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरेको जनाएको छ । उक्त विद्यालयका कक्षा ९ र १२ का विद्यार्थीहरुलाई जबरजस्ती करणीसम्बन्धी कानुनी प्रक्रिया, हद म्याद र दण्ड सजायसम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरेको प्रहरीले […]

सम्बन्धित