नेवार समुदायमा भाइटीका लगाएसँगै सकियो तिहार

सदरलाइन संवाददाता २ मंसिर २०७७, मंगलवार १७:०४
 

नेपालगञ्ज : प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व मंगलवार दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ ।

नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कुल परम्परा रहेकाले त्यस समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर मंगलवार पनि बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमवारनै सकिएको हो ।


यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि मंगलवार दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले बताउनुभयो । भाइटीकाका अवसरमा मंगलवार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोमवारदेखि नेपाल संवतअनुसारको नयाँ वर्ष ११४१ पनि शुरु भएको छ । १ हजार १ सय ४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवतको शुरुवात गरेका थिए ।

Next Post

अब घर मै बसि क्लियर टिभीको मुभी अन डिमाण्डबाट बिभिन्न फिल्म हेर्न सकिने

२ मंसिर २०७७, मंगलवार १७:०४
नेपालगञ्ज : इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति अव घरमै बसेर विभिन्न फिल्म हेर्न सक्ने व्यवस्था मिलाएको छ । नेपालको एक अग्रणी केबल टेलिभिजन तथा ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु केबलनेट प्रालिले सो को सुरुवात १६ नोबेम्बरबाट लक्ष्मी फिल्मको प्रिमियर सो […]

सम्बन्धित