सद्भावको पर्व मोहर्रम शनिवार सम्पन्न हुँदैछ

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १४:२४
 

नेपालगञ्ज : मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।

१० दिनसम्म चल्ने मोहर्रम पर्वको अन्तिम दिन शनिबार बेलुका ताजिया विसर्जन गरेपछि यो पर्व पूर्णरुपमा सम्पन्न हुनेछ । ताजिया विसर्जनको तयारीमा अहिले ताजिया राख्नेहरू जुटेका छन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव मोहम्मद हारुनले बाजागाजाको जुलुससहित स्थानीय करबलामा पुगेर ताजिया विसर्जन गरिने बताए ।

उनका अनुसार शनिबार बिहानैबाट मुस्लिम समुदायका घरहरूमा ताजिया विसर्जनको तयारी चलिरहेको छ । बेलुकासम्म सबैले ताजिया विसर्जन गरिसक्नेछन् ।

मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईका अनुसार यसअघि मोहर्रमको नवौँ दिन शुक्रबार राति ताजिया घरघरमा राखेर झिलिमिली पारी बजारलाई नै सिङारिएको थियो । रातभरी स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए ।


उनका अनुसार सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर ताजिया र सहरको झिलिमिली अवलोकन गरेका थिए । कोभिड १९ का कारण गत केही वर्षदेखि राम्ररी मनाउन नसकेको यो पर्वलाई यस वर्ष निकै धूमधामका साथ मनाइएको छ ।

इराकको कर्बलामा शहीद भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरूले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

उनीहरूकै शहादतको सम्झनामा अरबी क्यालेन्डर अनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागज र काठबाट बनाइएका ताजियालाई ९ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरी जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पुरा भएपछि ताजिया राख्ने गरिन्छ ।

मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रूपमा स्थापित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा मनाइयो बाघ दिवस

१३ श्रावण २०८०, शनिबार १४:२४
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले विश्व बाघ दिवसको अवसरमा शनिबार विविध कार्यक्रमसहित मनाएको छ । सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ । ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले पूजा गरेका थिए । पूजा सकिएपछि स्थानीय विद्यालयका बालबालिकाले पञ्चे बाजा बजाउँदै सयौं […]