सदरलाइनडटकम
२८ कात्तिक, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले नेपालगन्जको वडा नम्बर ४ स्थित सल्यानीबाग क्षेत्रमा मंगलबार प्रचार अभियान सञ्चालन गरेको छ । सो गठबन्धनले चुनावी प्रचार प्रसार तथा कोण सभा समेत आयोजना गरेको जनाएको छ ।
कोण सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगर मेयर धवलसम्शेर राणाले बाँके क्षेत्र नम्बर २ काँग्रेस र राप्रपाको गढ भएकाले फेरी पनि मतदाताले लोकतान्त्रिक शक्तिलाई जिताउ आव्हान गरे ।
स्थानीय तहको चुनावमा नेपालगन्जबासीले राप्रपा र नेपाली काँग्रेसलाई जिताएको स्मरण गराउँदै मेयर राणाले उपमहानगर सहित समग्र बाँके जिल्लाको विकासका लागि फेरी पनि काँग्रेस र राप्रपालाई जिताउन आग्रह गरे ।
महामन्त्री राणाले लोकतन्त्र र प्रजातन्त्र जोगाउनका लागि फेरी एक पटक लोकतन्त्रवादी शक्तिलाई मतदान गर्न अनुरोध गरे । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको सहयोग र सहकार्य बिना विकास गर्न कठिन हुने भएकोले भोली बिचार नमिल्ने व्यक्ति निर्वाचित भयो भने काम गर्न कठिन हुने भएकोले पनि यसक्षेत्रको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले देशलाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेस र राप्रपा एकै ठाउँमा उभिनु परेको बताए । राप्रपा लोकतन्त्रप्रति आस्था राख्ने पार्टी भएको हुनाले केन्द्रमा भएको निर्णयलाई काँग्रेसले पनि जिल्लामा स्वीकार गरेर लोकतन्त्र बचाउने यो महाअभियानमा लागेको स्पष्ट पारे ।
राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नितान्त विचारको लडाई भएको बताए । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजादले चुनावी मैदानमा उत्रिएका उम्मेदवारको सम्पूर्ण पहिचान हेरेर मात्र भोट हाल्न मतदातालाई अनुरोध गरे । यस्तै प्रदेश सभा–२ ख बाट काँग्रेसका उम्मेदवार सुरेन्द्र हमालले जनताकै बलबाट लोकतन्त्र प्राप्त भएको र अहिले लोकतन्त्र संकटमा पर्दा यसलाई जोगाउन नेपाली जनताले अहिले पनि साथ दिने विश्वास गरे ।