घाँसको विकल्प खोज्न सामुदायिक वनमा बृक्षारोपण

सदरलाइन संवाददाता ७ श्रावण २०८०, आईतवार १३:३०
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दाहरु पशु चौपायालाई चाहिने घाँसको लागि बृक्षारोपण गरेका छन् । वनक्षेत्रमा घाँस काट्न जाँदा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुलाई असर पर्ने भन्दै समुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस प्रजातीका विरुवा रोपेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा डाले घाँस, किमु, भटमासे, काप्रो लगायत प्रजातीका करिव १ हजार २ सय बिरुवा रोपिएको बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जानकारी दिए ।

‘२०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना हुँदा स्थानीयहरु बाध्यताले संरक्षणमा जुटेका थिए, अहिले वन र वन्यजन्तुको संख्या बृद्धि हुँदै जाँदा स्थानीयहरुमा रहर जागेको छ,’ उनले भने ।

वन्यजन्तुका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले बाली नालीसँगै मानवीय क्षति समेत ब्यहोर्नु परेको थुप्रै घटना भएपनि मानव र वन्यजन्तु बीचको सह–अस्तित्वको आवश्यकता महसुस हुँदै गएको अध्यक्ष खड्काको भनाई छ ।

निकुञ्ज र वन्यजन्तु संरक्षणमा साझेदारी गरिरहेका जेडएसएल नेपालको आर्थिक सहयोग तथा हिमाली प्रकृतीको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्ज, राजकोट मध्यवर्ती क्षेत्र अन्तर्गतका बसेरी मध्यवर्ती सामुदायिक वन, कुसुमेश्वर मध्यवर्ती सामुदायिक वन र रानी तलाउ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हालसम्म करिव १० हजार घाँस प्रजातीका विरुवा रोपिएको अध्यक्ष खड्काले बताए । अहिले रोपिएका विरुवा दुईदेखि तीन वर्षको अन्तरालमा घाँसको रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ ।

राजकोटमा तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा ८ लाख ५० हजारको वन्यजन्तु राहत कोष, तालकै सहयोगमा ८ लाख ४० हजार रुपैयाँको वन्यजन्तुबाट पीडितका बालबालिकालाई छात्रबृत्ती कोष, एनटिएनसी बर्दिया र जेडएसएल नेपालको सहयोगमा ८ लाख २० हजार रुपैयाँको तत्काल राहत कोष तथा केएफडब्लुआईयुसिएन र जेडएसएलको आर्थिक सहयोग एवं हिमाली प्रकृतीको सहकार्यमा ४ लाख रुपैयाँको बैकल्पिक आर्य आर्जनका लागि बीउ पुँजी स्थापना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

मध्यवर्ती क्षेत्रमा बसोवास गरिरहेका अधिकाँसले बाख्रा पालन गरेर जीविकोपार्जन गरिरहेको र पशु चौपायाकै लागि घाँस काट्न दैनिक तीन पटक जंगल जानुपर्ने बाध्यता रहेको बसेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमप्रसाद चौधरीले बताए ।


वनक्षेत्रमा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुमा असर पर्ने भएकाले सामुदायिक वन क्षेत्रमा घाँस प्रजातीका विरुवा रोपिएको उनले सुनाए । ‘वन्यजन्तुको संख्या बृद्धि भइरहेको छ, हामी सँधैं वन जंगलमा घाँस काट्न जाँदा दुबैलाई क्षति हुन सक्छ भन्ने कुरा हामीले बुझेर नजिकैको सामुदायिक वनमा घाँस प्रजातीका विरुवा रोपेका हौं,’ अध्यक्ष चौधरीले भने ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्ती सोनारी–१ रानीगजेरी स्थित रानी तलाउ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले पनि वन क्षेत्रमा वन्यजन्तुका लागि कृत्रिम ताल निर्माण गर्नुका साथै त्यस वरीपरी बृक्षारोपण गरेको छ ।

सामुदायिक वनमा सिमसार क्षेत्र रहेकाले सोही स्थानमा कृत्रिम तलाउ निर्माण गरेपछि वन्यजन्तुलाई पानी पिउन सहज भएको रानी तलाउ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञबहादुर खत्रीले बताए । ‘ताल ब्यवस्थापन गरेपछि निकुञ्जबाट चित्तल, रतुवा र चौकाहरु धेरै संख्यामा पानी पिउन आउने गरेको हामी प्रत्यक्ष रुपमा देख्ने गरेका छौं,’ उनले भने । ताल वरिपरी पाटेबाघ लगायत अन्य विभिन्न किसिमका जनावरको पाईला पनि देखा परेको उनले सुनाए ।

वन्यजन्तु संरक्षण र वन्यजन्तुबाट हुने क्षति न्युनिकरणका लागि स्थानीय सरकारले तारवारमा ठूलो लगानी गरिसकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले बताए । हाल कुसुम क्षेत्रमा वन्यजन्तुबाट बालीनाली सुरक्षित हुने अवस्था भएपनि सिँचाइको उचित ब्यवस्था नहुँदा स्थानीय बासिन्दाले अन्नबाली उत्पादन गर्न चाहेजति खेती गर्न नसकिरहेको उनले औल्याए ।

जेडएसएल नेपाल तथा हिमाली प्रकृतीले राजकोट मध्यवर्ती क्षेत्रका करिव ८१ घरधुरीलाई लक्षित गरेर हाल विभिन्न किसिमका तालिम दिनुका साथै बैकल्पिक जीविकोपार्जनका लागि सहयोग गरिरहेको छ । त्यस क्षेत्रका ८१ घरधुरी मध्ये ४५ घरधुरीलाई बाख्राको लागि सुरक्षित खोर ब्यवस्थापन गरिदिएको छ ।

यस्तै ४१ घरधुरीलाई समेटेर बैकल्पिक जीविकोपार्जन समिति बनाएर उन्नत तरकारी तथा फलफुल खेतीका लागि सहयोग गरिरहेको हिमाली प्रकृतीका फिल्ड कार्यालय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मिर्गौलाको ‘बायोप्सी’ सेवा शुरु

७ श्रावण २०८०, आईतवार १३:३०
नेपालगञ्ज : पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा मिर्गौलासम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा शुरु गरिएको छ । मिर्गौलाका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित लाइफलाइन जनरल अस्पतालमा सो सेवा शुरु गरिएको हो । लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक […]