नेपालगञ्ज : पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो ।
रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको जारी भएको चेकबाट जाहेरी पर्दा रुपन्देही प्रहरीको आग्रहमा बाँके प्रहरीले आइतबार साँझ यादवलाई पक्राउ गरेको हो ।
बाँके प्रहरीले यादवलाई सोमवार बुटवल पठाएको जनाएको छ ।
पूर्वमन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई गत माघ १० गते १२ लाख २८ हजार रुपैयाँको चेक दिएर नसाटिएपछि उमाशंकरले प्रहरीमा यादवविरुद्ध जाहेरी दिएका थिए ।
यादव २०७४ मा जनता समाजवादी पार्टीबाट बाँके २ (१) बाट निर्वाचित भएका थिए । पार्टी निर्देशनविरुद्ध मन्त्री बनेका यादवलाई जसपाले निस्काशन गरेको थियो ।