लम्पी स्किन रोगबाट दाङमा ४७७ गाई–गोरु मरे

सदरलाइन संवाददाता २५ असार २०८०, सोमबार १४:२५
 

दाङ : दाङमा लम्पी स्किन रोगका कारण चार सय ७७ गाई–गोरु मरेका छन् । जिल्लाभर २२ हजार छ सय ९५ गाईगोरु र भैंसी लम्पी स्किन रोगबाट बिरामी परेका छन् । दाङका १० वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको छ । संक्रमण केही मत्थर भएपनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको स्थानीय तहका पशु शाखाले बताएका छन् ।

अहिले पनि दाङका दशवटै पालिकाका पशुमा लम्पी स्किन रोगको संक्रमण रोकिएको छैन। पछिल्लो रेकर्ड अनुसार राजपुर गाउँपालिकामा सबैभन्दा धेरै पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् ।

राजपुरमा नौ हजारमा लम्पी स्किन संक्रमण भएको पालिकाले जनाएको छ । जसमा दुई सय भैंसी छन् । राजपुरमा एक सय २० पशु संक्रमणबाट मरेका छन् । त्यसपछि घोराही उपमहानगरपालिकामा छ हजार पशु लम्पी स्किनबाट संक्रमित भएका छन् । जसमा एक सय ५० भैंसीमा संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका पशु शाखाका प्रमुख डा.मनोज वलीले एकीन तथ्यांक नभए पनि १२ देखि १५ सय पशु संक्रमित भएका र २५ पशु मरेको जानकारी दिए। प्रकोपको रूपमा फैलिएको नभए पनि संक्रमण भने नरोकिएको बताए ।

शान्तिनगर गाउँपालिकाका पशु शाखा प्राविधिक सहायक देवराज आचार्यले झण्डै दुई हजार पशु लम्पी स्किनबाट संक्रमित भएको र १० वटा मरेको जानकारी दिए । वडा नं. १ र २ बाट शुरु भएको संक्रमण अहिले वडा नं.६ र ७ मा बढी फैलिएको आचार्यले बताए ।

त्यस्तै, दंगीशरण गाउँपालिकामा एक हजार एक सय पशु लम्पी स्किनबाट बिरामी भएका छन् भने २५ वटा मरेका छन् । त्यहाँ संक्रमण अझै रोकिएको छैन । त्यस्तै, पशु प्राविधिक शेरबहादुर हमालका अनुसार राप्ती गाउँपालिकामा पनि लम्पी स्किन पूर्णरूपमा नियन्त्रणमा आएको छैन । राप्तीमा लम्पी स्किन रोगबाट आठ सय ४५ पशु संक्रमित भएका छन् भने ४९ वटा मरेका छन् ।


गत फागुनदेखि संक्रमण देखिएको बंगलाचुली गाउँपालिकामा लम्पी स्किनको संक्रमण बढ्दो अवस्थामै छ । पशु स्वास्थ्य प्राविधिक माधव भट्टराईले दिएको जानकारीअनुसार असारदेखि केही मत्थर भए पनि संक्रमण बढ्दो क्रममा छ ।

बंगलाचुलीमा आठ सय पशु लम्पी स्किनबाट बिरामी परेका छन् भने १८ पशु मरेका छन् । लमही नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेले झण्डै सात सय पशु लम्पी स्किनबाट संक्रमित भएका र सातवटा मरेको जानकारी दिए ।

लमहीको वडा नं.१ को सितलापुर, बसन्तपुर र ५ नं. वडामा रहेका केही व्यावसायिक फार्महरुमा लम्पी स्किन देखिएको छ । लमहीका ८० प्रतिशत घरधुरीमा पशु संक्रमित भएका छन् ।

यसैगरी बबई गाउँपालिकामा छ सयबढी संक्रमित भएका र एक सयभन्दा बढी पशु मरेको पशु शाखा प्रमुख श्याम प्रकाश चौधरीले जानकारी दिए । गढवा गाउँपालिकामा एक सय ५० बढी पशु संक्रमित भएका र २५ वटा मरेको पशु शाखाका अधिकृत खेमबहादुर चौधरीले जानकारी दिए ।

नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ । शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो । नियन्त्रणका लागि उपचार थालिएपनि समस्या समाधान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लागूऔषध सहित ३ जना पक्राउ

२५ असार २०८०, सोमबार १४:२५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका–७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दिपक वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित […]