बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

सदरलाइन संवाददाता २२ असार २०८०, शुक्रबार १३:४४
 

नेपालगञ्ज : निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र परेका छन् ।

नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायीले ढिलाइ गरिदिएका कारण जानकी, नरैनापुर र खजुरा गाउँपालिकाले अस्थायी संरचनाबाट सेवा प्रवाह गर्न बाध्य छन् ।

साविकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर खजुरा गाउँपालिकाले सेवा प्रवाह गर्दै आएकोे छ । नयाँ भवन निर्माण भइसके पनि फर्निचर र विद्युत् वायरिङलगायतको फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

जानकी गाउँपालिकाले साविकको खजुराखुर्द गाविस हुँदै अहिले वडा नं. ३ मानपुरमा अस्थायी संरचनाबाट कार्यालय सञ्चालन गरिरहेको छ । नयाँ भवन समयमै निर्माण नभएका कारण नजिकै रहेका अस्थायी संरचनाबाट सेवा प्रवाह गर्नुपरेको अध्यक्ष छब्बन खाँले बताए ।

नरैनापुर गाउँपालिकाको प्रशासनिक भवन तयार भएपनि फिनिसिङको काम बाँकी छ । आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

बाँकेमा आठ स्थानीय तहमध्ये बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह शुरु गरिसकेका छन् भने नरैनापुर, खजुरा, जानकी र कोहलपुरको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।


डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वनकट्टीमा नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सहजरूपमा सेवा प्रवाह शुरु गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा पहिलो कार्यकालको नेतृत्वले नयाँ प्रशासनिक भवन निर्माण शुरु गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको पुरानो भवन सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भएपछि केही वर्षअघिमात्रै अत्याधुनिक भवन निर्माण गरिएका कारण नयाँ भवन बनाउन आवश्यक नरहेको उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए ।

राप्तीसोनारी गाउँपालिकाको आफ्नै भवन नभए पनि नयाँ भवन निर्माणको प्रक्रिया अहिलेसम्म शुरु हुनसकेको छैन । सिक्टा सिँचाइ आयोजनाको मूल बाँध निर्माणको काम भएको समयमा निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्यसञ्चालन हुँदै आएको छ ।

अहिले कार्यालय सञ्चालन भइरहेको स्थान र संरचना गाउँपालिकाको सेवा प्रवाहका लागि अपर्याप्त भएका कारण नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमतिको प्रयास गरिएको अध्यक्ष तप्त पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारागार सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२२ असार २०८०, शुक्रबार १३:४४
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीद्वारा संयुक्तरुपमा तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । एडभोसी फोरमका केन्द्रीय सदस्य वसन्त गौतमले निर्माण भएको एक वर्ष […]