कारागार सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सदरलाइन संवाददाता २२ असार २०८०, शुक्रबार १५:५४
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीद्वारा संयुक्तरुपमा तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । एडभोसी फोरमका केन्द्रीय सदस्य वसन्त गौतमले निर्माण भएको एक वर्ष पुगिसक्दासम्म पनि क्षेत्रीय कारगागार सञ्चालनमा नआएकाले बाँके कारागारमा कैदीबन्दीलाई कोचाकोच राख्दा उनीहरुको मानवअधिकार उल्लङ्घन भइरहेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई शुक्रवार बुझाइएको ज्ञापनपत्रमा ३५० जना कैदी बन्दीको क्षमता भएको बाँके कारगारमा हाल ९९२ जना कैदीबन्दीलाई राखिएकाले उनीहरुको मानवअधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ ।


सो ज्ञापनपत्रमा इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महत, एडभोसी फोरमका केन्द्रीय सदस्य बसन्त गौतम, नेपालगञ्ज उच्च बारका अध्यक्ष चित्रबहादुर शाही, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी र फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकीले हस्ताक्षर गरेका छन् ।

इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले क्षेत्रीय कारागार निर्माण भएको एक वर्ष बिते पनि कर्मचारी र बजेटको व्यवस्थापन नगरिञ्दा अझै सञ्चालनमा नआएकाले बाँके कारागारका कैदीबन्दीलाई सास्ती भोग्नुपरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एक पुरुष झुण्डिएको अवस्थामा भेटिए

२२ असार २०८०, शुक्रबार १५:५४
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित शान्तिटोल नजिक एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्दाजी ३६ वर्षीय मनिष शाही आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । केही दिनअघि मात्र भारतबाट आएका उनी घरमा कोहि नभएको अवस्थामा झुण्डिएको हुनसक्ने प्रहरिले जनाएको छ । उनी एक्लै घरमा […]