दुर्घटना रोक्न राजमार्गमा आकस्मिक चेकिङ शुरु

सदरलाइन संवाददाता १६ असार २०८०, शनिबार १३:४४
 

नेपालगञ्ज : राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ । सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच शुरु गरेको हो ।

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।

सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले देखाउँछ । यिनै कारणलाई रोक्न बाँके ट्राफिकले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले बताए ।


पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको चप्परगौरी, सुनवल, नाकढुंगा, सर्लाहीमा मोवाइल एफमार्फत लामो दुरीमा दुई जना चालक भए नभएको निरीक्षण गर्ने व्यवस्था छ । तर यसको कार्यान्वयन भने शून्य जस्तै छ । जसका कारण दुर्घटनाको जोखिम कायमै छ ।

यो जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ठाउँठाउँमा स्पिड राडार गणद्वारा गति मापन गरेर चालकलाई कारवाही गर्ने गरिएको ट्राफिक कार्यालय बाँकेका बरिष्ठ प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए ।

चालकले मादक पदार्थ सेवन नगरेर गाडी चलाउने, गाडी गुडाउनु अघि गाडीको पाठपूर्जाको अवस्था ठिक भए नभएको राम्रोसँग जाँच गर्ने, ओभरलोड नहाल्ने हो भने पनि धेरै हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा हरित नगर अभियान शुरु

१६ असार २०८०, शनिबार १३:४४
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिने भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीसँग सहकार्य गरी हरित नगरको अवधारणाले मूर्त रूप लिने दाबी गरेका छन् । नगर प्रमुख आचार्यले भने, “नगर क्षेत्रभित्र वृक्षरोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं […]