नेपालगञ्ज : सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि शुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।
सामीले बाँकेमा गरिएका बार्षिक क्रियाकलापबारे जानकारी गराएको छ । कार्यक्रम सञ्चालन भएका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । बार्षिक समिक्षा बैठकमा सामीले १० हजार ५ सय २ जनालाई व्यक्तिगत तथा सामूहिक परामर्श सेवा प्रदान गरेको जनाएको छ । जबकि उसको लक्ष्य ४ हजार ५ सय थियो । रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ छ ।
यस्तै बैदेशिक रोजगारीमा जान चाहने सम्भावित कामदारहरुलाई ८ पटक गहन अभिमुखीकरण कार्यक्रम गरिएको सामी कार्यक्रमका संयोजक कमलसिंह नेपालीले बताए । १६ पटक समुदाय अभिमुखीकरण कार्यक्रम, प्रहरी र पत्रकारहरुसंग १÷१ पटक अन्तरक्रिया, समुदायका अगुवाहरुलाई आप्रावसनको असर तथा प्रभाव तथा कामदारलाई सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरणसम्बन्धि कार्यक्रम ४ पटक गरिएका छन् ।
संयोजक नेपालीका अनुसार स्थानीय तहमा मनोसामाजिक विषयको दिगोपनको लागि अन्तरक्रिया कार्यक्रम २ पटक, स्थानीय तहको विषयगत शाखाहरुसँग अन्तरक्रिया १ पटक र सुरक्षित वैदेशिक रोजगारको सवालमा स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम ४ पटक गरिएको छ ।
यस्तै सामी परियोजना कर्यान्वयनको लागि स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको पालिकास्तरीय वैठक ८ पटक, स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक २ पटक र सम्बन्धित सरोकारवालाहरूबाट परियोजना अनुगमन तथा मूल्यांकन ८ पटक भएको छ ।
सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सामी कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप सेवा प्रदान गरिरहेको बताए । १६ जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ भने व्यक्तिगत मनोसामाजिक परामर्श सेवा पाउनेको संख्या ६४ रहेको सामी कार्यक्रम संयोजक नेपालीले जानकारी दिए ।
सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।