कोहलपुर नगरपालिकाले खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन

सदरलाइन संवाददाता ९ जेष्ठ २०८०, मंगलवार १४:४३
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ ।

वितरणका लागि विद्यालय पठाउनै लागिएको सो सेनेटरी प्याड गुणस्तरहीन भएको आशङ्का उत्पन्न भएपछि केही दिनअघि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । कोहलपुर नगरपालिकाले प्याड परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएकामा त्यहाँबाट गुणस्तरहीन भएको प्रतिवेदन आएको जनाएको छ ।

प्याडमा प्रयोग हुने कपास सय प्रतिशत हुनुपर्नेमा ३५ प्रतिशत मात्रै पाइएको र प्याडको लम्बाइ २४ सेन्टिमिटर हुनुपर्नेमा २१ सेन्टिमिटर मात्रै पाइएको प्रतिवेदनमा उल्लेख भएर आएको छ ।

कोहलपुर नगरपालिकाले टेन्डर प्रव्रिmयामार्फत जस्मिन हाइजिन नामक सप्लायर्समार्फत २७ लाख रुपियाँ बराबरको उक्त सेनेटरी प्याड खरिद गरेको थियो । प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि जस्मिन हाइजिन नामक सप्लायर्ससँंग खरिद सम्झौता रद्द गरिएको छ ।


चालु आर्थिक वर्ष सकिन केही समय मात्रै बाँकी रहेकाले तत्काल खरिद प्रक्रियामा जान समय लाग्ने भएकाले विद्यालयमा प्याड खरिदका लागि रकम पठाउने र निरन्तर अनुगमन गर्ने योजना नगरपालिकाको रहेको छ ।

शिक्षा मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको प्याड आपूर्तिका लागि विज्ञापन गरिएकामा नमुनाका रूपमा ल्याइएको सामग्री र पछि दिइएको सामग्री फरक पाइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरणका लागि व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी गराएका छन् । हमालका अनुसार यसअघि कोहलपुर नगरभित्रका विद्यालयहरूमा निःशुल्क वितरणका लागि एक लाख आठ हजार प्याकेट सेनेटरी प्याड खरिद गरिएको थियो ।

खरिद गरेर कोहलपुर नगरपालिकाको सभा हलमा ती प्याडहरू तीन महिना राखिएको थियो । त्यसपछि वितरणका लागि विद्यालय पठाउँदा विद्यालयबाट गुणस्तरहीन भएको आशङ्कामा ती प्याड नगरपालिकामै फिर्ता ल्याइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको कारकादौंमा साना सिँचाई

९ जेष्ठ २०८०, मंगलवार १४:४३
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले पहिलो कार्यकालमा सडक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका थिए । दोश्रो कार्यकालमा भने वर्माले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकता दिएका छन् । शैक्षिक सुधार र स्वास्थ्य सुधारमा अग्रसरता देखाएर बजेट विनियोजन गरेका वर्माले कृषितर्फ […]