नेपालगञ्ज : बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ बर्षीय त्रीबल शाही र २१ वर्षका लेखराज छत्याल पुल नजिक नदीमा डुबेर बेपत्ता भएका थिए ।
नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नजानेका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ । हुम्ला घर भई नेपालगञ्ज १ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरु मलामी गएका थिए । साँझ अबेरसम्म घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउमा उनीहरुले लगाएको कपडा र मोबाइल फेला परेपछि उनीहरु नदीमा डुबेको आंशका गरिएको थियो ।
रातीसम्म उनीहरुको खोजी कार्य गर्दा फेला नपरेपछि बिहीवार बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा उनीहरुको शव फेला पारिएको बाँके प्रहरीले जानकारी दिएको छ । मृतक युवकहरु नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए ।