दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले सरकार विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका हुन् ।
कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन् ।
खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राखेका छन् ।
भागबण्डा पुर्याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने विषयबाट पछि हटेका छन् । अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् ।