‘पत्रकारले पारदर्शिताका साथ सकारात्मक समाचार दिनु उसको कर्तव्य हो’

सदरलाइन संवाददाता ५ जेष्ठ २०८०, शुक्रबार १९:१२
 

 

आगरा (भारत) : भारतीय सरकारका कानून तथा न्याय राज्यमन्त्री प्रा. एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले समाजमा गलत असर पर्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भारतको आगरामा प्रेस क्लब अफ आगरा, उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमा आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको टिप्पणी गरेका हुन ।

‘समाजमा जसरी गलत पत्रकारिताका लागि पहेँलो पत्रकारिता शब्द प्रयोग गरिन्थ्यो, त्यसरी नै प्रशासनिक कर्मचारीको भ्रष्टाचारलाई रातो फीता शब्द दिइएको दिईएको छ ’–उनले भने ।

तर अब यी सबैबाट बच्ने र आफ्नो छवि सफा राख्ने समय भएको उनको भनाई थियो । तुलसीदासको दोहोरीलाई वर्तमान युगको परिप्रेक्ष्यमा परिमार्जन गर्दै उनले कवि, वैद र पत्रकारले भयभीत भएर प्रशंसा गरे देश बर्बाद हुने बताए ।

प्रजातन्त्रका चार खम्बा मध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्ने कुरामा जोड दिदै पत्रकारले पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने कुरामा उनको जोडथियो । पत्रकारलाई कुनै पनि हालतमा लक्ष्मण रेखा पार नगर्न उनले आग्रह गर्दै उनले भने, ‘नारदजीले जस्तै पत्रकारले सूचना मात्रै दिदैनन्, पीडितलाई न्याय पनि दिन्छन् भन्ने हामीलाई थाहा छ ।’

सोही कार्यक्रममा बोल्दै उत्तर प्रदेश राज्यका शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताए । ‘पत्रकारले मात्रै जनतालाई सचेत गराउँछन् । संकटकालमा पत्रकारिताको चेतनाको प्रभाव हामीले देख्यौं । अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउँदा पत्रपत्रिकाले पनि आवाज उठाए र विरोध गरे । फलस्वरूप तत्कालीन सरकार ढल्नुपरेको थियो । पत्रकारले राम्रो मनले काम गरे मात्र समाज, राज्य र देशमा परिवर्तन ल्याउन सक्छ’ؘؘ–उनको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै उनले ती वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने बताए ।पत्रकारिताका चुनौतिहरुको बारेमा चर्चा गर्दै उनले धेरै सतर्कता आवश्यक रहेको बताए । ‘सावधान रहनुहोस्, तथ्यहरू जाँच गर्नुहोस् र पारदर्शी हुनुहोस्, त्यसपछि आफ्नो समाचार फर्वार्ड गर्नुहोस् । हिन्दी पत्रकारिता सम्पदा हो, यसलाई सम्हाल्नैपर्छ’–उनले भने । अधिकारको लागि पत्रकारहरु एकजुट हुनुपर्ने पनि उनले बताए ।

उत्तर प्रदेश पत्रकार संघका अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको बताए । ‘पत्रकारहरु न त प्रतिष्ठानबाट उचित पारिश्रमिक पाउँछन् न समाजबाट उचित सम्मान पाउँछन्, आफ्नो विचित्र परिस्थितिलाई पनि सबैले बुझ्नुपर्छ । मिडियामाथि अंकुश लगाइँदैछ, पत्रकारले अरुको पीडा लेख्न सक्छ, आफ्नो होइन । यसका लागि पत्रकार र पत्रकारका सङ्गठनहरू बलियो भएर आफ्ना समस्याहरू आपसमा समाधान गर्नु उपयुक्त हुन्छ’– पाण्डेले भने ।


सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले भारत लोकतन्त्रको जननी मुलुक भएको बताए । ‘नेपाल र बंगलादेशमा भारतको सहयोगबाट मात्रै लोकतन्त्र आएको हो । विश्वका धेरै देशहरू पनि भारतीय पत्रकारिताबाट प्रभावित छन् । प्रेरणा लिनुहोस्, हामीले यसबाट सिक्नुपर्छ, दक्षिण एसियाका पत्रकारले सोच्नुपर्छ,’– लामाले भने । उनले सार्क मुलुक भित्रकै अफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गर्न परेको बताउदै दक्षिण एशिया साथै भारतमा पनि पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको कुरामा जोड दिए ।

सार्क जर्नलिस्ट्स फोरमका महासचिव बंगलादेशका मोहम्मद अब्दुर रहमानले कार्यक्रम गौरवशाली भएको बताए । ‘भारतको लोकतन्त्र पनि समृद्ध र प्रेरणादायी छ, म यसलाई सलाम गर्दछु’– उनले भने ।

वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको संकटबारे विशेष प्रतिबिम्ब प्रस्तुत गरेका थिए । उनले हरेक किसिमको समाचारबाट पत्रकारहरुलाई चुनौती भएपनि सुरक्षा उपलब्ध नहुने भएकाले नैतिकता पत्रकारको कवच भएको बताए । ‘प्रख्यात पत्रकार पराडकर जीले अमर शहीद राजगुरुलाई पिस्तौलले गोली चलाउन सिकाएका थिए तर पराडकर जीले कहिल्यै पिस्तौल प्रयोग गरेनन्’–उनले भने ।

महात्मा गान्धी, पंडित नेहरु, अटलजी, आडवाणी आदि पनि पत्रकार रहेको उनले बताए । सबैको बारेमा लेख्ने पत्रकारले आफ्नो बारेमा कहिल्यै लेखेनन, पत्रकारिता आउँछ र जान्छ तर समाज यहीँ रहने उनको भनाइ थियो । त्यसैले समाजलाई समृद्ध र सभ्य बनाउनुपर्छ, तब मात्र हाम्रो पत्रकारिता सार्थक हुने उनको भनाई थियो ।

मञ्चमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी पनि थिए । कार्यक्रमको सुरुमा प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारिताका अगाडि थुप्रै चुनौतिहरु रहेकाले सबैले सामना गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन गर्दा कोषाध्यक्ष विवेक जैनले आगराको पत्रकारिता र यसको इतिहासको बारेमा प्रकाश पारे ।

क्लबका अध्यक्ष अशोक अग्निहोत्री, वरिष्ठ पत्रकार विनोद भारद्वाज, आदर्श नन्दन गुप्ता, जसवीर सिंह जस्सी, शिव चौहान, सञ्जय सिंह, रिंकी तोमर, अजेन्द्र चौहान, अरुण रावत, मनिष जैन, विजय बघेल, समीर कुरेशी, कपिल अग्रवाललगायतको कार्यक्रममा सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले भारु २ हजारको नोट बन्द गर्दै

५ जेष्ठ २०८०, शुक्रबार १९:१२
नेपालगञ्ज : भारतीय रिजर्भ बैंकले २ हजार भारु नोट बन्द गर्ने भएको छ । भारतमा सन २०१६ मा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन शुरु गरेको थियो । सो नोट चलाउन शुरु गरेको ७ वर्षमा नै फेरि २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो । […]