छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउदै लुम्बिनी प्रदेश सरकार

सदरलाइन संवाददाता १६ मंसिर २०८१, आईतवार १८:३७
 

कपिलवस्तु :  लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको संरक्षण सहितको नश्लसुधारको योजना बनाई अघि बढ्ने भएको छ । छाडा पशु चौपायको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राख्दै ठोस योजना बनाउने भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउनेसम्मका योजना अघि सारिने बताएका छन् ।

उनले छाडा पशुलाई एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, ती पुशको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नेगरी कार्यक्रम तर्जुमा गरिने बताए ।


बाणगंगा नगरपालिका–८ मधवुन कपिलवस्तु स्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दिर्घकालिन समस्या समाधान गर्नेगरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताए । ‘उत्पादन दिन छाडेपछी पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो छ । यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुने, लगाएका खाद्यन्न, तरकारीबालीमा हानी नोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’–उनले भने–‘समुदायको परिचालन र सक्रियाताबाट छाडापशु चौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’

गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने, गाईको गोवर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको बताए । ‘यहाँहरुले थाल्ने नविनतम काममा प्रदेश सरकारले साथ दिन्छ । अहिले यहाँहरुले उठाएको सिंचाई र खानेपानीको समस्या समाधान गर्न आगामी बर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौं’–उनले भने–‘समुदायको सक्रियताबाट नै रचनात्मक कामहरु गर्न सकिन्छ । प्रदेश सरकारले समुदाय परिचालनमा समेत जोड दिएको छ ।’

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला समेत निर्माण गरिएका छन् । ति गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो ।

गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले अनुरोध गरेका थिए । हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छि पालिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पा घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

१६ मंसिर २०८१, आईतवार १८:३७
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन । निर्माणको काममा व्यक्तिगत सुरक्षालाई […]