बाँकेमा लागूऔषध प्रयोग गर्ने महिला बढ्दै

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १२:३६
 

नेपालगञ्ज : लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरूका अनुसार बाँकेमा पछिल्ला वर्षहरूमा महिला लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लामा लागूऔषध सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिँदै त्यसो नगरिए अवस्था गम्भीर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

दिनप्रतिदिन वृद्धि हुँदै गएका लागूऔषध प्रयोगकर्तामध्ये ठूलो सङ्ख्या दुर्गम जिल्लाबाट नेपालगञ्ज आएका महिला तथा छात्राहरू रहेको तथ्य बाहिर आएको छ ।

लागूऔषध सेवन रोकथामका लागि काम गर्दै आएको चेन्ज टिमका कार्यक्रम संयोजक इन्दिराकुमारी जीसीले बाँकेमा लागूऔषध प्रयोगकर्ता पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी भएको बताइन् ।

उनले जिल्लामा धेरैजसो लागूऔषध प्रयोग गर्ने महिलाहरू यौन पेसामा पनि सक्रिय भएको पाइएको बताइन् । भेरी अस्पतालमा कार्यरत लागूऔषध स्रोत व्यक्ति डा. दीप्ति काफ्लेले जिल्लामा रहेका महिला लागूऔषध प्रयोगकर्तामध्ये धेरै कम मात्र उपचार पद्धतिमा आउने गरेको बताइन् ।

उनले खुला सिमानादेखि लिएर अन्य विभिन्न कारणले लागूऔषधको प्रयोग गर्ने महिला ह्वात्तै बढेको देखिएको बताइन् । बाँकेमा आर्थिक वर्ष २०७८÷७९ तथ्याङ्क हेर्दा दुई लाख ३९ हजार ४२ वटा सिरिन्ज र ९१ हजार १० वटा कन्डम लागूऔषध प्रयोगकर्तालाई वितरण गरिएको चेन्ज टिमले जनाएको छ ।


त्यस्तै एक हजार ९७२ जनामा एचआईभी परीक्षण गरिएकोमा नौ जना पुरुष र एक जना महिलामा एचआईभी पोजेटिभ देखिएको सो संस्थाले जनाएको छ । चेन्ज टिमले लागूऔषध प्रयोगकर्तालाई रोग लाग्नबाट बचाउने अभियान सक्रिय रूपमा चलाउँदै आएको छ ।

सो संस्थाले सिरिन्ज प्रयोग गर्ने लागूऔषध प्रयोगकर्तालाई एचआईभी, हेपाटाइटिसजस्ता रोगबाट बचाउन सकभर प्रयोग गर्न नदिने वा हरेक पटक नयाँ सिरिन्ज प्रयोग गर्नका लागि निःशुल्क सिरिन्ज वितरण गर्ने काम गरिरहेको छ । साथै लागूऔषधविरुद्ध काम गरिरहेको छाता सङ्गठन रिकभरी नेपालले लागूऔषध प्रयोगकर्तालाई उपचारमा जोड्न विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरिरहेको संस्थाका स्रोत व्यक्ति प्रविन बीसीले बताए ।

भेरी अस्पतालले सम्पर्कमा आएका लागूऔषध प्रयोगकर्तालाई उनीहरूको अवस्थाअनुसार मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गराएर लागूऔषधको लत छुटाउने काम गरिरहेको छ । लागूऔषध प्रयोगकर्ताले उपचारको समयमा ध्यान नदिँदा मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ छ । डा. काफ्लेका अनुसार लागूऔषध प्रयोगकर्ताले औषधि प्रयोग गरेको अवस्थामा अल्कोहल अथवा लागूऔषध प्रयोग गरेको अवस्थामा हाई डोज भई बिरामीको मृत्य हुने गर्दछ ।

बाँकेको विगत एक वर्षको तथ्याङ्क हेर्ने हो भने १६७ जना पुरुष र १२ जना महिला सम्पर्कमा आएका छन् । जसमा ५९ जना पुरुष र पाँच जना महिलाले मात्र नियमित मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गरिरहेका छन् ।

त्यस्तै सम्पर्कमा आएका मध्ये सात जना कारागारमा, १७ जना सुधार केन्द्रमा, ४१ जना अन्य क्षेत्रमा बसाइँसराइ गरेर गएको, १६ जना भारत गएको, ११ जना वैदेशिक रोजगारीमा गएको र सात जनाको मृत्युसमेत भइसकेको पाइएको चेन्ज टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार शुक्रऋषि चौलागाईंलाई मातृशोक

१५ बैशाख २०८०, शुक्रबार १२:३६
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलाई मातृशोक परेको छ । रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर समेत रहेका चौलागाईंकी आमा बिनशोवा चौलागाईंको ८१ वर्षको उमेरमा असमायिक निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी मस्तिष्क घात भएर भेरी अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत थिइन् । उपचारको क्रममा […]