बर्दिया : सशस्त्र प्रहरी बल ३१ नम्बर गण, बर्दियाको गुलरिया नगरपालिका ३ स्थित कट्टीमा बीओपीको पोस्टको उदघाटन गरिएको छ । नेपाल–भारत सीमाको जंगलमा रहेको उक्त पोस्ट निर्माण भएपछि जिल्लामा बीओपीको संख्या ८ पुगेको छ ।
बिन्दवासिनी बाहिनीअन्तर्गत सशस्त्र प्रहरी बलका डीआईजी विदुर खड्कालाई गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बीओपीको हस्तान्तरण गरेका हुन् । नगरपालिकाको सहयोगमा निर्मित उक्त बीओपीमा सशस्त्र प्रहरी निरीक्षकसहित २५ जनाको टोली तैनाथ भएका छन् ।
बर्दियामा प्रस्तावित २९ वटामध्ये ८ वटा बीओपी निर्माण भइसकेको छ । बर्दियामा थप २१ वटा बीओपी स्थापना यसै वर्षबाट निर्माण हुने सशस्त्र प्रहरी बल गण, बर्दियाले जनाएको छ ।
जग्गासहित यो भवन निर्माणमा गुलरिया नगरपालिकाले ५४ लाख रुपैयाँ खर्च गरेको छ । भारतीय सीमानजिक रहेको उक्त बीओपी स्थापना भएपछि अवैध चोरी, तस्करी, हातहतियार, लागूऔषध ओसारपसार आपराधिक गतिविधि नियन्त्रणमा आउने डीआइजी खड्काले जनाए ।