भेरी अस्पतालको नयाँ भवन निर्माण समयमै सम्पन्न नहुने संकेत

सदरलाइन संवाददाता ७ बैशाख २०८०, बिहीबार १३:१२
 

नेपालगञ्ज : गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । तर वैशाख पहिलो साता सम्म समेत अस्पतालको भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

हाल पनि अन्तिम चरणको निर्माण कार्य चलिरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिए । अस्पतालमा हाल लिफ्ट, भ¥याङलगायत फिनिसिङको काम भइरहेको छ ।

“अस्पतालमा बिरामीको अत्यधिक चाप छ,” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईँले भने,“ नयाँ भवन हुँदाहुँदै शय्या किन पाइएन भनेर अस्पताल प्रशासनलाई बारम्बार दबाब हुन्छ, तर भवन हस्तान्तरण नभई हामीले प्रयोग गर्न नसक्ने अवस्था छ ।

भेरी अस्पतालमा १५० शय्याको स्वीकृति भएपनि हाल १६२ शय्यामा बिरामीको उपचार भइरहेको छ । १६ शय्याको आपत्कालीन कक्ष रहे पनि बिरामीलाई कुर्सीमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख चापागाईँको भनाइ छ ।

भेरी अस्पतालमा निर्माण भइरहेको ओपिडी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि भेरी अस्पतालको स्तरोन्नति भई करिब ५०० शय्याको हुने छ ।


सङ्घीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले असारभित्र निर्माण कम्पनीले काम सम्पन्न गरी हस्तान्तरण हुनेगरी अन्तिम चरणको निर्माण कार्य भइरहेको बताए ।

“कोभिड लगायतका कारणले सुरुवाती चरणमा निर्माण कार्यमा ढिलाइ भयो,” निमित्त आयोजना प्रमुख खनालले भने, “अन्य प्रशासनिक भवन र अस्पताल भवन निर्माणमा फरक हुने भएकाले समेत केही ढिलाइ भएको देखिन्छ ।”

उनका अनुसार फागुन १५ सम्म निर्माण सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि असारसम्मका लागि म्याद थप भएको छ ।

फ्लोरिङका सामानहरू बाहिरी ल्याउनुपर्दा पनि निर्माण कार्यमा ढिलाइ भएको उनको भनाइ छ । अस्पताल भवनको निर्माण प्रेरा–सिएबी–भीमेश्वर जेभीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जंगलमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद

७ बैशाख २०८०, बिहीबार १३:१२
रुकुम पश्चिम : रुकुम पश्चिममा जंगलमा लुकाइ राखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद भएको छ । मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानी जङ्गलको ओडारमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका […]